महिन्द्र राय यादवलगायत नेताहरू नेसपाबाट निष्कासित

बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले महिन्द्र राय यादवलगायत नेताहरूलाई पार्टीबाट हटाएको छ ।

पार्टीले आईतबार एक विज्ञप्ति जारी गरी पार्टीको विधान विपरितका गतिविधिमा लागेको उनीहरुलाई पार्टीबाट हटाउने निर्णय गरेको थियो ।

यादव प्रतिनिधि सभा सदस्य छन् । २०७९ को चुनावमा नेसपा अध्यक्षसमेत रहेका यादवले नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्नबाट सर्लाही क्षेत्र नम्बर २ बाट निर्वाचन जितेका थिए ।

यस्तै पार्टीका सहअध्यक्षसमेत रहेका बागमती प्रदेश सभा सदस्य गंगानारायण श्रेष्ठलाई पनि पार्टीबाट हटाएको छ। श्रेष्ठ बागमतीमा आन्तरिक मामिला तथा कानुन मन्त्री छन् । उनी २०७९ को चुनावमा माओवादीको चुनाव चिह्नबाट सिन्धुली क्षेत्र नम्बर २ को प्रदेश सभा क्षेत्र २ बाट निर्वाचित भएका थिए ।

यस्तै नेसपाले रमेशप्रसाद यादवलगायतलाई पनि पार्टीबाट हटाएको छ ।

नेसपाले हटाएका यी तीनै जना नेताहरूले माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरेका थिए । गत वर्ष चैत ३ गते बालुवाटारमा उनीहरूले पार्टी एकता गर्ने सहमति गरेका थिए । पार्टी एकता गर्ने सहमतिमा अध्यक्ष भट्टराई असहमत थिए ।

नेसपाले यादवसहित तीन नेतालाई पार्टी सदस्यबाट हटाएको जानकारी निर्वाचन आयोगलाई दिएको थियो । आयोगबाट उक्त विवरण अद्यावधिक भएको जानकारी आएको नेसपाले विज्ञप्ति निकालेर उल्लेख गरेको छ ।

यादवसहित नेताहरूलाई नेसपाको नाम, चुनाव चिह्न, लोगो र झण्डाको प्रयोग नगर्न पनि नेसपाले भनेको छ ।

पार्टीले निष्कासित गरेपनि यादव र श्रेष्ठको सांसद पदमाथि तत्काल अप्ठेरो पर्दैन । यादव र श्रेष्ठ माओवादी केन्द्रको मनोनयमा निर्वाचित भएर माओवादी केन्द्रकै सांसदको रुपमा प्रतिनिधिसभा र प्रदेशसभामा क्रियाशिल छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार