राज्य व्यवस्था समितिमा एनजीओका कर्मचारी खाजासहित पुगेपछि बैठक स्थगित

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गैरसरकारी संस्था (एनजीओ)का कर्मचारी खाजासहित पुगेपछि बैठक स्थगित भएको छ ।

समितिका सदस्य हृदयराम थानीका अनुसार बिहान ८ बजे बोलाइएको बैठकमा टेबल अगाडि काँटा चम्चा र स्पेसल खाजाको व्यवस्था थियो । सांसदहरू बैठक कक्षमा छिर्ने बित्तिकै उनीहरूलाई पाइलट पेन र डायरी बाँडियो । रेस्टुरेन्टको स्टाइलमा नेप्किन, काँटा चम्चासहित खाजाको व्यवस्था देखेपछि अन्य सांसदहरू समेतले चासो राखेको र छलफलका क्रममा एनजीओको कर्मचारीसमेत सभा कक्षभित्रै रहेको थाहा भएको उनले बताए ।

खाजाको विषयमा विवाद हुन थालेपछि एनजीओ प्रतिनिधि जुरुक्क उठेर सबैलाई नमस्कार गर्दै आफ्नो संस्थाले खाजाको व्यवस्था गरेको बताए । ती व्यक्तिले सांसदहरूलाई होटलमा लगेर छलफल गराउने कुरा पनि भएको तर संसदीय समितिमै छलफल गर्ने भनेर व्यवस्था गरेको भनेर भूमिका बाँध्न थाले ।

बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि उपस्थित थिए । गृहमन्त्री लामिछानेले एनजीओको खाजा खाएर कानुन बनाउने विषय उचित नरहेको बताए । आफू यस्तो छलफलमा नरहने भन्दै गृहमन्त्री लामिछाने बाहिरिए ।

त्यसपछि केहीबेर समिति सदस्यहरू आन्तरिक छलफलमा रहे । तर बैठक औपचारिकतामा प्रवेश नै गर्न सकेन । मन्त्री र सांसदहरूले खाजाको विषयमा प्रश्न उठाउँदै बैठक नै बहिष्कार गरेपछि समितिको बैठक स्थगित भएको थियो ।

‘एनजीओको खाजा खाएर विधेयकमाथि छलफल गर्ने कुरा राम्रो हुँदैन, यसले राम्रो सन्देश जाँदैन । साथै गृहमन्त्रीसमेत नरहेको अवस्थामा समितिको बैठक बस्न नहुने कुरा राखियो । त्यसपछि बैठक स्थगित भयो’ सांसद थानीले भने ।

समितिको आइतबारको बैठकमा संघीय निजामती ऐन संशोधन विधेयकमाथि छलफल गर्ने कार्यसूची थियो । तर बैठक कार्यसूचीमा प्रवेश गर्न सकेन । सांसदहरूका अनुसार एनजीओका प्रतिनिधिलाई आजको बैठकमा बोलाइएका कारण उनीहरू उपस्थित भएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार