ब्रोकर कमिसनको नयाँ दर जेठ १ देखि लागु गरिने

नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिसनको नयाँ दर आउँदो जेठ १ गतेदेखि लागु गर्ने भएको छ । नेपाल धितोपत्र बोर्ड स्रोतका अनुसार आइतबार बसेको सञ्चालक समितिको बैठकले ब्रोकर कमिसनको नयाँ दर अर्थ मन्त्रालयबाट स्वीकृत भएअनुसार नै लागु गर्ने निर्णय गरेको हो ।

लगानीकर्ताबाट हाल ब्रोकरले लिँदै आएको कमिसनमा १० प्रतिशत घटाउने प्रस्ताव बोर्डले अर्थ मन्त्रालयमा पठाएको थियो । तर, के कति घटाउने वा कति कायम गर्ने भन्ने विषय भने सार्वजनिक नभएको स्रोतको भनाइ छ ।

त्यस्तै, लगानीकर्ताबाट धितोपत्र बोर्डले लिने कमिसन सात प्रतिशत घटाउन प्रस्ताव गरिएको थियो । हाल संगठित संस्थाको सेयरको प्रत्येक खरिद तथा बिक्रीमा लिइने ब्रोकर कमिसन माथिल्लो सीमा ०.४० प्रतिशत र तल्लो सीमा ०.२७ प्रतिशत कायम थियो ।

हाल ५० हजार रुपैयाँसम्मको कारोबारमा ०.४० प्रतिशत, ५० हजारदेखि पाँच लाखसम्मको कारोबारमा ०।३७ प्रतिशत, पाँच लाखभन्दामाथि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३४ प्रतिशत, २० लाखभन्दा माथि एक करोडसम्मको कारोबारमा ०.३० प्रतिशत र एक करोडभन्दामाथि जतिसुकैको कारोबारमा ०।२७ प्रतिशत ब्रोकर कमिसन लाग्दै आएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार