संसद्लाई प्रभावकारी बनाउन भगीरथ प्रयत्न गरिने : सभामुख सापकोटा

सभामुख अग्निप्रसाद सापकोटाले संसद्लाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि भगीरथ प्रयत्न गरिने बताएका छन् । संसदीय मामिला पत्रकार समाजको सातौँ अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले संसद्लाई जीवन्त बनाउन आफ्नो ब्रह्मले निर्णय गर्ने बताए । “त्यो निर्णयलाई इतिहासले मूल्याङ्कन गर्नेछ, जनताका लागि जनप्रतिनिधि सबैभन्दा नजिकको हुन्छ, जीवनसाथीभन्दा जनप्रतिनिधिमाथि विश्वास गरिएको हुनाले त्यसैअनुरुप भूमिका निर्वाह गर्न प्रयत्न गर्नेछु”, सभामुख सापकोटाले भने ।

समस्या, चुनौती, वादविवाद, बहस हुँदै समाधानमा जाने भएकाले अहिले त्यही मार्गमा जान लागेको उनले सुनाए । समाजले संसदीय मामिलामा अनुसन्धानात्मक पत्रकारिता गर्ने विश्वास पनि सभामुख सापकोटाको छ ।

राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले संसदीय पत्रकारको भूमिका अध्ययन, अनुसन्धान र अभिलेखीकरणमा हुनुपर्ने बताए । विधेयकलगायत संसद्का काम एवं गतिविधिलाई समाजको विषयका रुपमा जनतासमक्ष लैजान महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा उनले जोड दिए ।

समाजका संस्थापक अध्यक्ष हरिबहादुर थापाले नेपालमा संसदीय अभ्यास शुरु भएको ३० वर्ष पूरा भए पनि संसदीय पत्रकारितामा पूर्णता आउन नसकेकाले यसतर्फ समाजको ध्यान जानुपर्ने बताए । संसदीय पद्धतिलाई परिष्कृत गराउन पत्रकारको भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ । समाजका अध्यक्ष नारायण काफ्लेले विसं २०५८ देखि संस्था पत्रकारिता क्षेत्रमा क्रियाशील रहेको बताए ।

कार्यक्रममा समाजले प्रकाशन गरेको पुस्तक ‘हाम्रा माननीय’ को सभामुख सापकोटाले विमोचन गरे । पुस्तकमा प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदको परिचयसहित यसअघि आबद्धता भएका संस्था एवं पेशाका विषयमा प्रकाश पारिएको छ । समाजको दुईवर्षे कार्यकालका लागि आजै निर्वाचन हुँदैछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार