अब एक सातासम्मको मौसमबारे पहिले जानकारी पाइने

जल तथा मौसम विज्ञान विभागले अब एक सातसम्मको मौसम अनुमान गर्ने तयारी गरेको छ । विभागअन्तर्गतको मौसम पूर्वानुमान माहाशाखाले हाल तीन दिनसम्मको मात्रै मौसम अनुमान गरिरहेको छ ।

एक सातासम्मको मौसमी अवस्था जानकारी दिँदा मौसमजन्य विपत्‌का घटना न्यूनीकरणमा सहयोग पुग्ने विभागको विश्वास छ । एक सातासम्मको मौसम पूर्वानुमान हुँदा किसानलाई बाली लगाउन र भित्र्याउन सहज हुने अपेक्षा गरिएको छ ।

विभागका महानिर्देशक डा। जगदीश्वर कर्माचार्यले एक सातासम्मको मौसमसम्बन्धी पूर्वानुमान गर्ने गरी छलफल अगाडि बढिरहेको बताए ।

‘अहिलेसम्म हामीले तीन दिन मौसम पूर्वानुमान गर्दै आइरहेका छौँ । यसको प्रभावकारिता पनि बढ्दै जान थालेपछि एक सातासम्मको पूर्वानुमानको तयारी गरिएको हो’, उनले भने ।

उनले विश्वव्यापी मोडलअनुसार अगाडि बढ्न प्राविधिक र वित्तीय स्रोतको अभाव भएकाले क्षेत्रीयस्तरमा सहकार्य गरेर जान सकिने बताए ।

मित्र राष्ट्रहरु र अन्य मौसमसम्बन्धी क्षेत्रीय सङ्गठनसँग सहकार्यका लागि छलफल भइरहेको उनले जानकारी दिए ।

विपद् व्यवस्थापनविद् डा. धर्मराज उप्रेतीले मौसमसम्बन्धी एक सातासम्मको पूर्वानुमान गर्दा मनसुजन्य विपद्का घटना न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

‘मौसमसम्बन्धी एक सातासम्मको जानकारी दिँदा ठूलो धनजन र हानि नोक्सानी घटाउने विश्वास गर्न सकिन्छ । प्रत्येक वर्ष सर्वसाधरणहरुले बाढी र पहिरोबाट सम्पत्तिको नोक्सान बेहोर्नुपरेको छ । सम्पत्तिको सुरक्षा गर्न प्रशस्त समय चाहिन्छ ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार