बहुसंख्यक महिलाको नेतृत्व रहेको ‘एक मुठ्ठी बादल’को सुटिङ सकियो

बहुसंख्यक महिलाको संलग्नता रहेको एक मुठ्ठी बादल, ‘माइ सेयर अफ स्काई०को सुटिङ सकिएको छ ।

लेखक तथा निर्देशक सहारा शर्माको नेतृत्वमा यो चलचित्रमा पहिलो पटक महिलाले चलचित्र निर्माणका विभिन्न विभागहरूमा प्रमुखको भूमिका निर्वाह गरेका छन् । पोखराका लामाचौर र आसपासका ठाउँमा खिचिएको सिनेमा २२ दिनमा सकिएको हो ।

डक्सकुल र प्लान इन्टरनेशनल नेपालले सन् २०२१ मा गरेको एक अनुसन्धानले नेपालमा चलचित्रकर्मीहरू भित्रको महत्त्वपूर्ण लैंगिक असमानतालाई प्रकाश पारेको थियो । अध्ययनको निष्कर्ष अनुसार, नेपाली चलचित्रमा १० प्रतिशतभन्दा कम महिलाले चलचित्र निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छन् । यही कुरालाई मध्यनजर गर्दै निर्माण टिमले महिलाहरू प्रमुख, रचनात्मक र प्राविधिक भूमिकाहरूमा रहने सक्ने वातावरण निर्माणका लागि मुख्य विधाहरूमा महिलाको भूमिका चयन गरेको हो ।

साहारा शर्माको लेखन तथा निर्देशन रहेको चलचित्रमा छायांकारको भूमिका लिन ड्यानले निर्वाह गरेकी थिइन् । भियतनामकी ड्यानको यो तेस्रो फिचर चलचित्र हो । उनका लागि एक मुठ्ठी बादल पहिलो नेपाली फिचर चलचित्र हुनेछ । यसैगरी प्रडक्सन डिजाइनमा भारतकी यशस्वी सबरवाल, अडियो मिक्सर प्रियंका गायकवाड, र प्रमुख सहायक निर्देशक मर्णा जेम्स रहेका छन् ।

चलचित्रमा कीर्ति जोशीले मेकअप विभागको प्रमुखको जिम्मेवारी निर्वाह गरेकी थिइन् । पोशाक विभागको जिम्मेवारी जानकी कडायतले सम्हालेकी निर्माण पक्षले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

निकुन श्रेष्ठको कार्यकारी निर्माता रहेका चलचित्रलाई अभिमन्यु दीक्षित, अनुप पौडेल र सामीप्यराज तिमल्सेनाले संयुत्त रूपमा निर्माण गरेका हुन् । गौथली इन्टरटेन्मेन्ट, मन प्रोडक्सन र अन्डरग्राउन्ड टकिजको प्रस्तुति रहेको चलचित्रमा महिला कलाकारलाई नै मुख्य भूमिकामा देख्न सकिनेछ ।

चलचित्रमा आँचल शर्मा, निशा शर्मा, उषा रजक, अस्मिता गौतम, भीमा मैनाली, शेखर चापागाइँ, मनिष निरौला, गौरव विष्ट, सहयोग राज अधिकारी, अविरलप्रताप अधिकारी आदि कलाकारको अभिनय रहेको छ । प्रस्तुत कलाकार तथा प्राविधिकको संलग्नतामा विविध प्रतिभाले क्यामेरा पछाडि मात्र नभई अगाडि पनि महिलालाई सशक्तिकरण गर्ने स्पष्ट सन्देश दिने विश्वास लिइएको छ । चलचित्रलाई अर्को वर्ष प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार