सुदूरपश्चिममा आफ्नै नेतृत्वको सरकार लिएर नयाँ गठबन्धनमा जाने नाउपाको निर्णय

नागरिक उन्मुक्ति पार्टीले नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको छ । गठबन्धनका विषयमा संरक्षक रेशमलाल चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबीचको मतभेदबीच बुधबार धनगढीमा भएको छलफलमा नाउपा सांसदहरू नाउपाकै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेका हुन् ।

आफ्नो पार्टीले सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री र सामाजिक विकास मन्त्रालय लिने गरी नयाँ सत्ता समीकरणमा जाने निर्णय गरेको सो पार्टीको संसदीय दलका नेता कैलाश चौधरीले जानकारी दिए । “प्रदेश सरकारको नेतृत्वसहित सामाजिक विकास मन्त्रालय लिने गरी नयाँ सत्ता समीकरणमा जाने निर्णय हाम्रो पार्टीले गरेको छ”, उनले भने,“अब दुई दिनभित्रै प्रदेश सरकार गठनबारे गुड न्युज पाउनुहुन्छ।” सुदूरपश्चिम प्रदेशमा सरकार गठनका लागि उन्मुक्ति निर्णायक रहेको छ ।

सुदूरपश्चिम प्रदेशमा बहुमतको सरकार गठनका लागि २७ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्ने गर्दछ । नागरिक उन्मुक्ति पार्टीले नयाँ सत्ता समीकरणलाई समर्थन गर्ने निर्णय गरेपछि बहुमतको सरकार गठनका लागि स्पष्ट बहुमत पुग्नेछ । बैठकमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीको समेत उपस्थिति रहेको थियो ।

यसअघि, नागरिक उन्मुक्ति पार्टीभित्र नेपाली कांग्रेस नेतृत्वको सरकारमा रही रहने कि बाहिरिएर नयाँ गठबन्धनमा जाने भन्ने विवाद थियो । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले नयाँ गठबन्धनमा जाने चाहना राखेकी थिइन् । तर, संरक्षक चौधरीले भने नेपाली कांग्रेस नेतृत्वको सरकारमा रही रहने अडान लिएका थिए । अब भने पार्टी अध्यक्षले चाहे अनुसार नागरिक उन्मुक्ति पार्टी अगाडि बढेको छ ।

बहुमत जुटाउन नसकेपछि मुख्यमन्त्री कमलबहादुर शाहले चैत २२ गते राजीनामा दिएका थिए । मुख्यमन्त्रीले राजीनामा दिएपछि संविधानमा भएको व्यवस्था बमोजिम प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा सोभन्दा बढी दल मिलेर सरकार गठन गर्नका लागि आह्वान गरेका छन् । प्रदेश प्रमुखले आह्वान गरे अनुसार मुख्यमन्त्री नियुक्तिको समय सीमा आउँदो वैशाख २ गतेसम्म तोकिएको छ ।

प्रदेश सभामा नेकपा (माओवादी केन्द्र) का १०, नेकपा (एमाले) का १०, नागरिक उन्मुक्ति पार्टीका ६ र नेकपा (एकीकृत समाजवादी) पार्टीका चार जना प्रदेश सभा सदस्य रहेका छन् । चार वटै पार्टीको मिलाएर सदस्य सङ्ख्या जम्मा ३० पुग्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार