सशस्त्रको बलम्बु स्टोरमा आगलागी: एसपीसहित ७ जनालाई सोधपुछका लागि झिकाइयो

यही सोमबार सशस्त्र प्रहरी बलको बलम्बुस्थित केन्द्रीय स्टोरमा भएको आगलागी घटनाबारे छानबिन गर्न गठित आन्तरिक समितिले काम थालेको छ ।

आगलागीपछि कार्यविभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहालको अध्यक्षतामा ९ सदस्यीय छानबिन समिति बनाइएको थियो ।

समितिले भण्डार महाशाखामा कार्यरत सशस्त्र प्रहरी उपरीक्षकसहित ७ जनालाई भण्डारण गरिएको सामानको विवरण र अवस्थाबारे सोधपुछका लागि झिकाइएको केन्द्रीय प्रवक्ता एवम् डीएसपी शैलेन्द्र थापाले बताए ।

यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नं. ९ पशुपतिनाथ बाहिनीबाट सुरक्षा जिम्मेवारीमा लिई त्यस दिन ड्युटीमा रहेका सशस्त्र प्रहरी उपरीक्षकसहित ११ जना र नेपाल एपीएफ अस्पतालको सुरक्षा टोलीबाट मूलगेटमा खटिएका २ जनालाई सोधपुछका लागि मुख्यालय झिकाइएको छ ।

समितिले मंगलबार बिहानैदेखि घटनास्थललाई सिल गरेर सुरक्षाको लागि नयाँ टोली राखेको छ । आगलागीबाट क्षति भएका सामानको विवरण संकलन पनि तीव्र पारिएको सशस्त्रले जनाएको छ । आगलागीबाट जोगिएका प्रयोगमा ल्याउन मिल्ने सामान छुट्याई सिल गरेर सुरक्षित स्थानमा राखिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार