संसद् अवरुद्ध हुनुको अपजस सरकारले लिनुपर्छ : सचेतक थिङ

नेपाली कांग्रेसकी सचेतक सुशिला थिङले संसद् अवरुद्ध हुनुको अपजस सरकारले लिनुपर्ने बताएकी छन् ।

बुधबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सचेतक थिङले नेपाली कांग्रेसले एक महिना अघिदेखि संसदीय छानबिन समिति गठनको माग गरे पनि सरकारले बेवास्ता गरेको बताइन् । उनले आफूहरूको कुरा सुनुवाइ नभएका कारण संसद् अवरुद्ध गर्न बाँध्य भएको भन्दै यसको अपजस सरकारले लिनुपर्ने बताइन् । उनले संसदीय छानविन समिति बनाउनका लागि प्रमुख प्रतिपक्ष दलको रुपमा सरकारलाई खबरदारी गर्नु कांग्रेसको गल्ती भयो रु भनि प्रश्न समेत गरिन् ।

उनले भनिन्, ‘सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग राखिरहेका छौँ । पर्सि एक महिना पुग्छ । एक महिनासम्म हामीले माग गर्दै गर्दा सरकारले छानबिन समिति गठन नगरेको कारणले हामी बाध्य भएका हौँ । यसको सम्पूर्ण जस, अपजस सरकारमा भर पर्छ । एक महिनासम्म सरकार के हेरेर बस्छ ? सरकारलाई हामीले सूचना दिएका होइनौँ ? सरकारमा खबरदारी गरेका होइनौँ ? यो भन्दा खबरदारी के दिने ? सरकार अनदेखा गरेर बस्छ भने सरकारलाई हामीले यति भन्दा के प्रतिपक्षको गल्ती भयो ? खबरदारी गर्नु कांग्रेसको गल्ती भयो त ?’

उनले नेपाली कांग्रेसले ०४७ साल यताका उच्च पदस्थ व्यक्तिहरुको सम्पत्ति छानबिनका लागि संसद्मा दर्ता गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि संसद सुचारु भएपछि जहिले छलफल गरेपनि हुने बताइन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार