राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन आज, मैदानमा घिमिरे र पुडासैनी

राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन बुधबार (आज) हुँदैछ ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो सवा १ बजे बस्ने बैठकले निर्वाचन प्रक्रिया अघि बढाउने छ ।

राष्ट्रिय सभा उपाध्यक्षका लागि सत्तारूढ दलहरूले कपिलवस्तुकी नेकपा (एमाले)की सांसद विमला घिमिरेलाई अघि सारेका छन् ।

सत्ता गठबन्धनका तर्फबाट उमेदवारी दिएकी घिमिरेको प्रस्तावकमा राष्ट्रियसभामा एमालेका प्रमुख सचेतक भगवती न्यौपाने छिन् । समर्थकमा नेकपा (माओवादी केन्द्र)का गोपीबहादुर सार्की अछामी रहेका छन् । उनी ०७६ माघ ९ गते राष्ट्रियसभा सदस्य बनेकी हुन् । उनको कार्यकाल दुई वर्ष बाँकी छ ।

त्यस्तै, राष्ट्रिय सभा उपाध्यक्षका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले काठमाडौंकी विष्णुदेवी पुडासैनीलाई अघि सारेको छ । कांग्रेसकी उमेदवार पुडासैनीको प्रस्तावकमा दुर्गा गुरुङ र समर्थकमा नारायणदत्त भट्ट छन् । पुडासैनी गएको माघमा भएको निर्वाचनबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी हुन् । महिला क्लस्टरका सातजनामध्ये वाग्मती प्रदेशबाट उनी निर्वाचित भएकी हुन् । पुडासैनी ७३ वर्षीया सांसद हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार