कांग्रेसले रवि लामिछानेलाई खुइल्याउन छानबिन समिति माग गरिरहेको छ : स्वर्णीम वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णीम वाग्लेले कांग्रेसले एक जना व्यक्ति खुइल्याउन सहकारी ठगीमा छानबिन समिति माग गरेको बताएका छन् । उपसभापति वाग्लेले मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा रास्वपाको उदय भएको १ वर्षमै सबै बेथिति देखा परेकोजस्तो भाष्य कांग्रेसले बनाउन खोजेको बताएका हुन् ।

‘विगत ३४ वर्षमा भएका काण्डै काण्डका भकारीलाई एकातिर राखौँ, भर्खर १ वर्षअघि उदाएको रास्वपाकै कारणले मुलुक बेथितितर्फ गएको हो भन्ने भाष्य बनाउन खोजियो,’ उनले भने ।

कांग्रेसले गृहमन्त्री एवं पार्टी सभापति रवि लामिछानेलाई खुइल्याउन समिति माग गरेको पनि उपसभापति वाग्लेको दाबी छ । ‘व्यक्ति खुइल्याउने, प्रतिसोध साध्ने विधि र औजारका रूपमा संसदीय छानबिन समितिको दुरुपयोग गर्नु हुँदैन,’ उनले भने । केही समयअघि कांग्रेस महामन्त्री गगन थापाले नै एमालेले सदन अवरुद्ध गर्दा संसदीय छानबिन समिति चाहिँदैन भनेको पनि वाग्लेले बताए ।

रास्वपा २०४७ सालयताका सबै भ्रष्टाचारहरू छानबिन गर्न स्वतन्त्र समितिको पक्षमा रहेको पनि उपसभापति वाग्लेले बताए । ‘०४७ सालदेखिका भ्ष्रटाचारबारे छानबिन गर्ने कुरा त सत्तारुढ गठबन्धनको न्यूनत साझा कार्यक्रममा समेत उल्लेख गरिएको छ । कुनै पनि कालखण्डमा घटेका भ्रष्टाचारबारे ग्रान्ड पब्लिक इन्क्वायरी आह्वान गर्छौं । त्यसमा सहकारी पनि पर्छ,’ उनले भने ।

सहकारी पीडितका समस्या र सरोकारसँग कांग्रेसलाई कुनै सरोकार नभएको पनि उनको दाबी छ । ‘सहकारी ठगी भन्दा भन्दा मान्छेले पत्याउँछन् भन्ने छ कांग्रेसलाई। सबै काण्डमा उच्चस्तरीय स्वतन्त्र छानबिन समिति हाम्रो माग हो,’ उनले भने । यस्तै बेथितिविरुद्ध आगामी वैशाख १५ गते इलाम-२ का जनताले जवाफ दिने पनि उनले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार