डोल्पामा डढेलो निभाउने क्रममा सेनाका चारजना गम्भीर घाइते

डोल्पाको दुनही सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा सोमबार चार सुरक्षाकर्मी घाइते भएका छन् ।

डढेलो निभाउन गएका सेनाका चारजना घाइते भएको डोल्पाका प्रहरी नायव उपरीक्षक (डीएसपी) हरिकृष्ण केसीले जानकारी दिए । उनीहरू गम्भीर घाइते छन् ।

डोल्पा सदरमुकाम दुनैमा नेपाली सेनाको ब्यारेकबाट सल्किएको आगो आइतबारदेखि सामुदायिक वनमा फैलिएको थियो । डढेलोका कारण उक्त वनमा पनि ठूलो क्षति भएको छ । सदरमुकाम दुनैस्थित सेनाको देवीदत्त गण ‘क’ भदालेका सैनिक जवानहरूले ब्यारेक क्षेत्रको फोहोर व्यवस्थापन गर्न लगाएको आगो सामुदायिक वनमा फैलिएको थियो ।

घाइतेहरूको उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी भइरहेको केसीले बताए । डढेलो निभाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तीन वटै सुरक्षा निकाय खटिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार