भक्तपुरका ६ वर्षीय आरभले जब बानेश्वरमा एकल चित्रकला प्रदर्शन गरे

यूकेजीमा पढ्ने ६ वर्षीय आरभ बन्धु भर्खरै अक्षर चिन्दै छन् । अक्षरभन्दा बढी उनी चित्रका रेखा स्पष्ट र कलात्मक ढङ्गले उतार्न सिपालु छन् ।

हुने विरुवाको चिल्लो पात भनेजस्तै, अहिलेदेखि नै आरभको चित्रकलामा भविष्य उज्ज्वल देखिन्छ ।

आइतबार नयाँ बानेश्वरस्थित एनबी सेन्टरको पहिलो तलामा उनको एकल चित्र प्रदर्शन भएको छ ।

घुमेर दृश्य अवलोकन गरी पेन्सिनलले कोरिहाल्ने उनको स्वभावको परिणामस्वरूप सानै उमेरमा एकल चित्रकला प्रदर्शन गर्न सम्भव भएको उनका बुवा भरतबन्दु थापाले बताए ।

भक्तपुर बस्ने आरभका अनुसार १५ दिनमा २५ वटा स्केच कोरेका छन्। पशुपति तथा जानकी मन्दिर, जात्रा, शिव लिङ्गलगायत प्राकृतिक दृश्य उनले चित्रमा उतार्ने गरेका छन् ।

आरभको कला नियाल्न बालबालिकादेखि बुढापाकासम्म झुम्मिएका थिए । भविष्यमा चित्रकार बन्ने उद्देश्य राखेका आरभ भन्छन्, ‘चित्र कोर्न पाउँदा खुसी मिल्छ ।’

छोराको कलाप्रतिको रुचि बुझेरै परिवारमा हौसला प्रदान गर्न एकल चित्रकला प्रर्दशनी राखिएको उनकी आमा गीताञ्जलीले बताइन् ।

‘बालबालिकाको रुचिमा अभिभावक सहयोगी हुनुपर्छ’, उनले भने, ‘हाम्रो थोरै हौसलाले धेरै प्रगति गर्न सक्छन् ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार