सुनसरीमा पाँच बुँदे सहमति, कर्फ्यू विस्तारै हट्ने

सुनसरीको हरिनगर गाउँपालिकामा भएको दुई समुदायबीचको विवाद साम्य पार्न पाँच बुँदे सहमति भएको छ । शनिबार बसेको सर्वदलीय सर्वपक्षीय बैठक पाँच बुँदे सहमति भएको हो ।

फेसबुकमा राखेको भिडियोका कारण सुरु भएको विवादले स्थिति अशान्त बनेपछि शुक्रबार बेलुकाबाट सुनसरीको इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका र कोशी गाउँपालिकामा अनिश्चितकालीन कर्फ्यू आदेश जारी भएको थियो ।

शुक्रबार हरिनगर गाउँपालिका केन्द्र भुटाहामा भएको दुई समूहबीचको झडपले उग्र रुप लिँदा हरिनगरसहित जिल्लाका पाँच स्थानीय तहमा त्यसको असर देखिएको थियो।

केहीबेर अघि जिल्ला प्रशासन कार्यालय इनरुवामा सम्पन्न सर्वपक्षीय बैठकले घटनाको निन्दा गर्दै छानबिन गर्ने, दोषीमाथि कारवाही गर्ने, घाइतेहरुको निशुल्क उपचारको व्यवस्था गर्ने र तनाव साम्य भएपछि सुनसरीमा सद्भाव र्याली आयोजना गर्ने निर्णय गरेको सुनसरीका कामु प्रमुख जिल्ला अधिकारी वेदराज फुयालले जानकारी दिए ।

उनका अनुसार जिल्ला प्रशासनले लगाएको कर्फ्यू क्रमशः खुकुलो पार्दै लैजाने सहमति पनि भएको छ। शुक्रबार बिहानैबाट सुरु भएको हरिनगर तनावले निम्त्याएको झडपमा १० जना प्रदर्शनकारी र १९ जना प्रहरी घाइते भएका थिए ।

हरिनगर ४ स्थित भुटाहामा दुई समूहबीच झडप भएपछि शुक्रबार हरिनगरको केन्द्र तनावपूर्ण बनेको थियो। घटनास्थलमा प्रहरीले ८० राउन्ड हवाई फायर र ४० सेल अश्रु ग्यास प्रहार गरेको थियो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार