वैशाख ८ गते ‘पिंक केयरएथन’ हुने

महिलाहरूको स्वास्थ्य एवं फिटनेसमा सचेतना जगाउने उद्देश्यले यही वैशाख ८ गते ‘काठमाडौँ पिंक केयरएथन’ हुने भएको छ । लेजर पोर्ट नेपालले नेपाल प्रहरी श्रीमती सङ्घसँगको सहकार्यमा यो कार्यक्रम गर्न लागेको हो । काठमाडौँ पिंक केयरएथनमा महिलाहरूको दौड, जुम्बालगायतका विभिन्न कार्यक्रम आयोजना हुनेछ ।

यस पटकको कार्यक्रममा ३ किलोमिटर, ५ किलोमिटर र १० किलोमिटरको दुरी तय गरिएको छ । जुनसुकै उमेर समूहका महिलाहरूले सहभागिता जनाउन सक्ने यो इभेन्टको मुख्य उद्देश्य सधैँ घरायसी काम र दैनिकीमा व्यस्त रहने महिलाहरूलाई आफ्नो स्वास्थ्यको लागि पनि समय निकाल्न प्रेरित गर्नु रहेको आयोजक संस्था लेजर पोर्ट नेपालका अध्यक्ष नमराज जोशीले बताए ।

आयोजकले आज राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार पिंक केयरएथनमा यसपटक पच्चिस सयदेखि तिन हजार महिलाहरू सहभागी हुने अपेक्षा गरिएको छ । महिला स्वास्थ्य, सचेतना र लोक कल्याणको क्षेत्रमा विविध कार्यक्रम गर्दै आएको नेपाल प्रहरी श्रीमती सङ्घकी अध्यक्ष लक्ष्मी पराजुली कुँवरले यस कार्यक्रमले महिलाहरूलाई आफ्नो र आफ्नो परिवारको स्वस्थ जीवनशैली अपनाउन प्रोत्साहित गर्ने बताइन्।

काठमाडौँ पिंक केयरएथनको यस संस्करणमा भारतका चर्चित टेलिभिजन प्रस्तोता एवं कलाकार जय भानुशालीले संचालन गर्नेछन् । सहभागी हुन चाहने महिलाहरूले इसेवाबाट नाम दर्ता गर्न सक्नेछन् । पिंक केयरएथनको फेसबुक र इन्स्टाग्रामको पेजमा दिएको जानकारी अनुसार तोकिएका स्थानमा गएर भौतिक रुपमा पनि नाम दर्ता गर्न सकिनेछ ।

यसअघि काठमाडौं पिंकाथनको नाममा हुने गरेको यो कार्यक्रम यसपटक अझ नेपालीपन झल्किने गरी काठमाडौं पिंक केयरएथन नाममा आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। लेजर पोर्टले सन् २०१७ देखि २०१९ सम्म तीन वर्ष काठमाडौं पिंकाथन आयोजना गरेको थियो। त्यसपछि कोभिड महामारी र अन्य सामाजिक आर्थिक कारणले रोकिएको इभेन्ट यो वर्ष भव्यरुपले पुनरागमन हुने आयोजक संस्थाको दाबी छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार