यस्ता छन् मन्त्रिपरिषद बैठकका ८ निर्णय

काठमाडौं – मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८१/०८२ का लागि प्रदेशका लागि ६० अर्ब र स्थानीय तहका लागि ८८ अर्ब रुपैयाँ समानीकरण अनुदान स्वीकृत गर्ने निर्णय गरेको छ ।

हिजो बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सरकारको प्रवक्ता रेखा शर्माले सरकारले मन्त्रीपरिषद्को बैठकले तथ्यांक नियमावली, २०८० लाई पनि स्वीकृत गरेको बताइन ।

यस्तै सरकारले नेपाल प्रशासन सेवा समूहीकरण तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा हरिप्रसाद लम्साललाई बढुवा गरेको छ ।

नेपाल पर्यटन बोर्डको कार्यकारी समितिको रिक्त तीन सदस्य पदमा ऋषिराम भण्डारी, राजेन्द्रबहादुर लामा र रामप्रसाद सापकोटालाई मनोनयन गरेको छ ।

सरकारले नेपालको संविधानको धारा ५३ एवं सुशासन, व्यवस्थापन तथा सञ्चालन ऐन, २०६४ को दफा ४१ बमोजिम नेपाल सरकारको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गर्ने निर्णय गरेको छ ।

त्यस्तै नेपाल स्वास्थ्य सेवा अन्तर्गत विभिन्न समूह, उपसमूहका ११ जना अधिकृतहरूलाई सम्बन्धित समूह, उपसमूहका ११ औँ तहमा बढुवा गरेको पनि प्रवक्ता शर्माले जानकारी दिइन ।

उनले विकास आयोजनाको लागि प्रयोग हुने राष्ट्रिय वनको क्षेत्रफल र कटान हुने रुख संख्यामा फरक नपर्ने गरी राष्ट्रिय वनको जग्गा प्रयोग गर्न दिने सम्बन्धी शर्त परिमार्जन गर्न स्वीकृत दिने निर्णय भएको पनि बताइन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार