सडक बत्तीको महशुल नतिर्ने स्थानीय तहलाई प्राधिकरणले दियो लाइन काट्ने चेतावनी

नेपाल विद्युत प्राधिकरणले सडक बत्तीको महशुल नतिर्ने स्थानीय तहलाई विद्युतको लाइन काट्ने चेतावनी दिएको छ ।

शुक्रबार सूचना प्रकाशन गरेर प्राधिकरणले विभिन्न स्थानीय तहहरूले सडक बत्ती बालेको तर त्यसबापत उठेको बिजुलीको महशुल नबुझाएको बताउँदै यथाशिघ्र महशुल बुझाउन ताकेता गरेको हो ।

प्राधिकरणका अनुसार सडकबत्ती बालेबापत ६ अर्ब रूपैयाँ बक्यौता रकम उठ्न बाँकी छ ।

प्राधिकरणबाट स्वीकृति नलिई सडक बत्ती जडान गर्नु नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ (संशोधनसहित)को दफा २ को खण्ड (ङ १) बमोजिम गैरकानुनी रहेको प्राधिकरणले स्पष्ट पारेको छ ।

अनधिकृत तवरले विद्युत् सेवा उपभोग गरेमा सोही ऐनको दफा २३ बमोजिम विद्युत् लाइन काट्न सकिने व्यवस्था रहेको प्राधिकरणले चेतावनी दिएको छ ।

“देशभरका विभिन्न स्थानीय तहहरूले सडक बत्ती प्रयोग गरे बापत करिब ६ अर्बभन्दा बढीको विद्युत् महसुल नेपाल विद्युत् प्राधिकरणलाई तिर्नरबुझाउन बाँकी रहेको छ,” प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै भनेको छ, “पत्राचारमार्फत् जानकारी गराइँदै आएको व्यहोरा अवगत नै छ । बक्यौता महसुल नतिर्ने र बिनामिटर जडान गरिएका सडक बत्ती नेपाल विद्युत् प्राधिकरणबाट हटाइने भएकाले सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राखी रीतपूर्वक ग्राहक बनी मिटरमार्फत् सडक बत्ती जडान गराउन आग्रह गरिन्छ ।”

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार