रास्वपामा इलामका लागि लिम्बुलाई अघि सार्ने मत बलियो, सुहाङको पक्षमा माओवादी

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले इलाम निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका सञ्चारकर्मी मिलन लिम्बूलाई अघि सार्न आन्तरिक छलफल थालेको छ । अघिल्लो महिना मात्रै नेकपा माओवादी केन्द्र त्यागेर स्वतन्त्र उम्मेदवारका रूपमा उम्मेदवारी घोषणा गरेका लिम्बूलाई नै रास्वपाले घण्टीबाट चुनाव लडाउने तयारी गरेको रास्वपा उच्च स्रोतले पुष्टि गरेको छ । पार्टीको विधानमा मिनी निर्वाचनमार्फत उम्मेदवार चयन गर्नुपर्ने विधि रहेकाले अलमलमा परेको भएपनि त्यहाँको भूगोल, युवाहरूको भावना र पहिचानको मुद्दालाई समेत समेट्ने गरी लिम्बुलाई अघि सार्ने तयारी भएको स्रोतले बतायो ।तर, लिम्बुले अहिलेसम्म पार्टीको सदस्यता पनि नलिएकालाई सिधै उम्मेदवार बनाएर जाँदा पार्टीमा विवाद हुन सक्ने भएकाले निर्णयमा पुग्ने कठिनाइ भएको बुझिएको छ ।

रास्वपाबाट चुनाव लड्ने तयारीस्वरुप माओवादी केन्द्र त्यागेका लिम्बुले भने यसअघि नै उम्मेदवारी घोषणा गरेका छन् । १ महिना अघिदेखि निर्वाचन क्षेत्रमा पुगेर मतदाताबिच भेटघाट गरिरहेका लिम्बुले भने परम्परागत दलबाट देशले निकास नपाउने देखेर स्वतन्त्र उम्मेदवार बनेको बताए । माओवादी परित्याग गरेर स्वतन्त्र बनेकाले नयाँ दलको रूपमा उदाएको स्वतन्त्र पार्टीको उम्मेदवार बन्ने अवस्था आए घण्टी चिन्हबाट चुनावमा होमिने मनस्थितिमा लिम्बु छन् ।

कोशी प्रदेशमा पहिचानको मुद्दा चर्को रूपमा उठेका बेला रास्वपाले पहिचानको मुद्दामा स्पष्ट धारणा बनाइदिए चुनाव सजिलै जित्ने आङ्कलन लिम्बुको छ । आफू स्थानीय क्षेत्रमा भिजेको, युवा र जनजातिका साथै स्वतन्त्र युवाहरूको भावना बोक्ने भएकाले पनि रास्वपाले आफृुलाई अघि सार्दा जित निकाल्न सहज हुने उनले दाबी गरेका छन् ।

संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि उक्त निर्वाचन क्षेत्रमा आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदैछ ।
उपनिर्वाचनका लागि त्यहाँको बलियो मानिएको नेकपा एमालेले भने स्व.नेम्वाङकै पुत्र सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएको छ ।
अहिलेसम्म इलाममा हुने उपनिर्वाचनको उम्मेदवारका विषयमा छलफलमै प्रवेश नगरेको माओवादी केन्द्रले भने बझाङको प्रदेश सभामा दाबी गर्ने र इलाममा एमाले उम्मेदवारलाई सहयोग गर्ने पक्षमा रहेको माओवादी केन्द्रका नेताहरूको बुझाइ छ ।

यस्तै उपनिर्वाचनका लागि नेपाली काँग्रेसका बाट भने ७ जनाको नाम चर्चामा छ । तर यसअघि नेम्बांगसँग झिनो मतले पराजित भएका जिल्ला सभापति डम्बर खड्कालाई नै उम्मेदवार बनाउन सक्ने धेरैको बुझाई छ । यद्यपि काँग्रेसको कोशी प्रदेश समितिले भने भेषराज आचार्यलाई उम्मेदवार बनाउन पहिलो नम्बरमा राखेर सिफारिस गरेकाले आचार्यको सम्भावना पनि बलियो छ ।

त्यस्तै कोशीमा पहिचानको मुद्दा उठाएर चर्चामा आएका पहिचानवादीहरूका तर्फबाट पनि उम्मेदवारको लगभग छिनोफानो भइसकेको छ । डकेन्द्रसिंह थेगिमलाई उम्मेदवार बनाउने गरी सहमति भएको छ । थेगिम प्रदेश १ पुनः नामकरण सङ्घर्ष समितिका संयोजक समेत हुन । थेगिमलाई किरात याक्थुङ चुम्लुङ, नेपाल आदिवासी जनजाति महासङ्घ, किराँत राई यायोक्खा र नेपाल शेर्पा सङ्घ लगायतका विभिन्न समूहले सघाउने प्रतिबद्धता जनाएका छन् ।

बैशाख १५ मा हुने इलाम क्षेत्र २ को उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता चैत २४ लाई तोकिएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार