परमादेश माग गर्दै केदार कार्कीले दिए सर्वोच्चमा रिट

कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

बिहीबार दिउँसो मुख्यमन्त्री कार्कीको तर्फबाट अधिवक्ता सुप्रेक्षा जोशीले रिट दायर गरेकी हुन् ।

नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीलाई मुख्यमन्त्रीको जिम्मेवारीमा कुनै पनि कामकारबाही नगर्न नगराउन र आफूलाई यथावत् रूपमा मुख्यमन्त्रीको जिम्मेवारी वहन गराउन केदार कार्कीले माग गरेका छन् । संविधानको धारा १३३ (२) र (३) बमोजिम उत्प्रेषण, परमादेश लगायत माग गर्दै रिट हालेकी हुन् ।

कोशी प्रदेश प्रमुख कार्यालय, प्रदेश प्रमुख परशुराम खापुङ्ग, सभामुख अम्बरबहादुर विष्ट, संकल्प प्रस्‍तावका प्रस्तावक रेवतीरमण भण्डारी, समर्थकहरू गणेशप्रसाद उप्रेती, किशोरचन्द्र दुलाल र नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई विपक्षी बनाइएको छ ।

प्रदेश प्रमुख खापुङले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए । उनले नयाँ सरकार गठनका लागि आह्वान गरेसँगै केदार कार्की काठमाडौं आइपुगेका हुन् । उनले नयाँ सरकार गठन असंवैधानिक भएको दाबी गरेका छन् ।

मुख्यमन्त्री कार्कीका विरुद्ध एमाले–माओवादीका प्रदेश सभा सदस्यहरुले प्रदेश सभाबाट संकल्प प्रस्ताव पारित गराएका थिए । संकल्प प्रस्ताव पारित भएपछि मुख्यमन्त्री कार्कीले विश्वसको मत लिएनन् । मुख्यमन्त्री कार्कीका अनुसार संविधानको धारा १६८ (५) बमोजिम बनेको सरकारलाई विश्वासको मत पाएपछि दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन पाइँदैन ।

उनी यसअघि उपधारा ५ बमोजिम मुख्यमन्त्रीका नियुक्त भएका हुन् । उपधारा ५ बमोजिम मुख्यमन्त्रीमा नियुक्त हुँदा दलको समर्थन नभएर व्यक्तिको समर्थन हुने, व्यक्तिको समर्थन फिर्ता लिन नमिल्ने मुख्यमन्त्री कार्कीको जिकिर छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार