कमेडी च्याम्पियनका प्रतियोगी चढेको कार दुर्घटना, ६ घाइते, एक गम्भीर

टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’ का प्रतियोगी चढेको कार दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

शुक्रबार बिहान अन्दाजी साढे ३ बजे भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर १० मा कार दुर्घटनामा परेको हो । नगरकोटबाट फर्कंदै गर्दा बागमती प्रदेश ०१-०२६ च ०३५९ नम्बरको कार अनियन्त्रित भई प्रदेश ३-०१-००३ क ६२९८ नम्बरको टिपरसँग ठोकिएको थियो ।

दुर्घटनामा कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीसहित ६ जना घाइते भएको र तीमध्ये एकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी वसन्त पाठकले जानकारी दिए ।

कारमा कमेडी च्याम्पियनका निर्देशक भण्डारीसहित पूजन अधिकारी, सुशान्त बस्याल, रजनेस अर्याल, प्रकृति गिरी र पवन भट्टराई घाइते भएका छन् । भण्डारी र अधिकारी अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । अरूको मध्यपुर थिमी अस्पतालमा उपचार भइरहेको डिएसपी पाठकले बताए ।

उनका अनुसार गम्भीर घाइते हुनेमा बस्याल छन् । अन्य सामान्य घाइते छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार