महरालाई बिरामी भएका कारण हिरासत अवधि अस्पतालमा लैजान आदेश

सुन तस्करी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले हिरासतको अवधि अस्पतालमा बस्न पाउने भएका छन् । सोमबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेर उनलाई हिरासतमा राख्न अनुमति माग गर्दै अदालत पेश गरेको थियो ।

महराले इजलासमा आफू टीबी, युरिक एसिड र प्रोस्टेटको बिरामी रहेको बताएका थिए।  आफूलाई विभिन्न रोग रहेको बताएपछि अदालतले अनुसन्धानको जिम्मेवारी लिएको सीआईबीलाई उपचार व्यवस्था गर्न निर्देशन दिएको हो ।

अदालतले अस्पताल भर्ना गर्न आदेश दिएको तर कुन अस्पताल राख्ने भन्ने टुंगो भइनसकेको प्रहरीले जनाएको छ । जिल्ला अदालत काठमाडौंले उनलाई ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिँदै स्वास्थ्य अवस्थाका कारण अस्पतालमा राख्न आदेश दिएको छ । महरालाई सीआईबीको टोलीले सोमबार जरुरी पक्राउ पुर्जी दिएर कपिलवस्तुबाट पक्राउ गरेको थियो । 

सर्वोच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा गठित सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले पूर्वसभामुख समेत रहेका महरामाथि छानबिन गर्न सिफारिस गरेसँगै थप अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो ।

गत साउन २ मा ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ साल पुसमा विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याइएको नौ किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष महराको नाम जोडिएको थियो ।

उक्त प्रकरणमा उनका छोरा राहुल पनि मुछिएका छन् । राहुललाई भदौ १३ गते प्रहरीले पक्राउ गरिसकेको छ । उनी अहिले पुर्पक्षका लागि थुनामा छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार