भाइबर बन्यो नेपालमा सूचीकृत हुने पहिलो अन्तर्राष्ट्रिय सामाजिक सञ्जाल

अन्तर्राष्ट्रिय सामाजिक सञ्जाल भाइबर नेपालमा सूचीकृत भएको छ । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धी निर्देशिका २०८० अनुसार पहिलोपटक भाइबर नेपालमा सूचीकरण भएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाललाई व्यवस्थित रुपमा सञ्चालन गराउन कार्तिक २३ गते निर्देशिका जारी गरेको थियो । निर्देशिका अनुसार एक लाख भन्दा बढी प्रयोगकर्ता भएको सामाजिक प्लाटफर्म नेपालमै कार्यालय राखि सञ्चालन भएको हुनु पर्नेछ ।

सूचीकरण नगरी सञ्चालन भएका सामाजिक सञ्जाल जुनसुकै बेला पनि बन्द हुनसक्ने उल्लेख गरिएको छ । मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीका अनुसार मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको निर्देशिकाबमोजिम तोकिएको प्रक्रिया पूरा गरेर भाइबर सूचीकरण गरिएको हो ।

नेपालमा सञ्चालन भएका सामाजिक सञ्जाल प्लेटफार्मलाई तीन महिनाभित्र सूचीकृत भएर अनुमतिपत्र लिनुपर्ने भनिए पनि सूचीकरणका लागि सञ्चार मन्त्रालयले अहिले पनि सहजीकरण गरिरहेको छ । यस्ता प्लेटफार्महरुले हरेक तीन÷तीन वर्षमा अनुमतिपत्र नवीकरण पनि गर्नुपर्ने नियम छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार