उपेन्द्र यादव भन्छन्- ओली सरकारसँग सत्ता साझेदारी गरेर सती जान सकिँदैन (भिडियो)

ओलीलाई विस्थापित गरेर नयाँ सरकार बनाउने रणनीतिमा यादव

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले ओली सरकारसँग सत्ता साझेदारी गरेर सँगै सती जान नसकिने बताएका छन् ।

ओली सरकार अहिले पनि संसद् असफल पार्ने खेलमा नै लागिरहेको आरोप लगाउँदै यादवले संविधान विरोधी, लोकतन्त्र र सङ्घीयता विरोधी ओली सरकारसँग सत्ता साझेदारी गरेर सँगै सती जान नसकिने बताएका हुन् । शुक्रवार प्रेस मञ्च नेपालले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका यादवले मुलुकमा अहिले देखिएको सम्पूर्ण घटनाक्रमको जिम्मेवार ओली सरकार रहेको बताउँदै सरकार पूर्ण रूपमा असफल भैसकेको बताए ।

यादवले प्रधानमन्त्रीको वा सरकारको ध्यान मुलुकको आर्थिक सम्वृद्धि, राष्ट्रिय समस्याको समाधानतर्फ नभई सङ्घीयता, धर्मनिरपेक्षतालाई सिद्ध्याउने खेलमा रहेको भन्दै प्रधानमन्त्री ओलीले मुलुकमा अधिनायकवाद लाद्न खोजेको जिकिर गरे । यादवले अब ओली सरकारलाई विस्थापित गरेर प्रतिगमनको विरुद्ध र लोकतन्त्रको पक्षमा रहेका दलहरू मिलेर नयाँ सरकार गठन गर्नु पर्नेमा जोड दिएका छन् ।

त्यस्तै यादवले रेशम चौधरीको मुद्दा र राजबन्दी रिहाइको लागि मात्रै भएको तर सत्तामा जानका लागि चौधरीको मुद्दा बोकेर पार्टी नहिँडेको स्पष्ट पारेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार