फागुन दोस्रो सातादेखि दादुरा–रुबेला विरुद्धको खोप अभियान

सरकारले आगामी फागुन दोस्रो सातादेखि देशभरि दादुरा–रूबेला विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ ।

दादुरा–रूबेला सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै फागुन १३ देखि चैत ७ गतेसम्म करिब ५७ लाख बालबालिकालाई खोप लगाउने लक्ष्य छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नौ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई दादुरा–रूबेला विरुद्धको खोप दिन लागेको हो ।

स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार भारतसँग सीमा जोडिएका दादुरा–रूबेलाबाट अति सङ्क्रमित २१ जिल्ला तथा काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरका सबै बालबालिकालाई उक्त खोप लगाइने छ ।

‘बाँकी ५१ जिल्लाका बालबालिकालाई पनि खोप अभियानमा सहभागि गराइने छ,’ प्रमुख डा. गौतमले भने ।

जाजरकोट र रुकुम पश्चिममा भने यसअघि नै खोप अभियान सञ्चालन गरिएको थियो । फागुन १३ देखि चैत ७ गतेसम्म खोप अभियानका क्रममा नियमित छुटेका खोप पनि बालबालिकालाई लगाइने उनले बताए ।

दादुरा–रूबेला सबभन्दा बढी संक्रामक रोग हो । एक व्यक्तिले १८ जनासम्म यो रोग सार्न सक्दछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार