हुम्लामा प्रभावकारी बन्दै अनलाइन कक्षा

हुम्लाको सदरमुकाम सिमकोटस्थित कैलाश बोधि स्कुलले शुरु गरेको अनलाइन कक्षा प्रभावकारी देखिएको छ । लामो समयदेखि दोस्रो लहरका रूपमा फैलिएको कोरोना सङ्क्रमणका कारण सरकारले शैक्षिक संस्था बन्द गरेपछि पठनपाठन नियमित गर्न पहिलोपटक विद्यालयले अनलाइनबाट पठनपाठन सञ्चालन गर्ने गरेका हुन् ।

कोरोनाको कारण नयाँ शैक्षिक सत्र शुरु भए पनि पठनपाठन नभएको बेला वैकल्पिक माध्यम अनलाइनबाट कक्षा ५ देखि ८ सम्मको पढाइ शुरु गरिएको विद्यालयका प्रधानाध्यापक छवाङ लामाले बताए । विद्यालयले यही असार १५ गतेबाट पठनपाठन सञ्चालन गर्ने निर्णय गरेपछि केही दिनयता अनलाइन कक्षाबाट नियमित पढाइ शुरु गरिएको बताइएको छ ।

शुरुका दिनमा हरेक अनलाइन कक्षामा दुई/तीन विद्यार्थी मात्र सहभागी भए पनि त्यो सङ्ख्या हाल १५ जनासम्म पुगेको छ । प्रधानाध्यापक लामाका अनुसार अनलाइनबाट अङ्ग्रेजी, नेपाली, गणित र विज्ञान विषय पठनपाठन भइरहेको छ । अनलाइन कक्षाको प्रभावकारिता बढ्दै गएको र इन्टरनेटले राम्रो काम गर्दै गएको खण्डमा सबै कक्षा सञ्चालन गर्ने सोच राखिएको उनले बताए ।

Loading...