टीकापुर बालक हत्या : दुई किशोरी पक्राउ, पारिवारिक रिसइबीका कारण हत्या

बुधबार मृत फेला परेका कैलाली टीकापुरका बालकको हत्यामा संलग्न दुई किशोरीलाई प्रहरीले पक्राउ गरेको छ । टीकापुर नगरपालिका–१ का साढे ३ वर्षीय विवेक विष्ट सोमबार बिहान ११ बजेदेखि बेपत्ता भएका थिए ।

उनको शव बुधबार घरदेखि ५ सय मिटर तल उत्तरतर्फ सोही नगरपालिकाको वडा नम्बर ४ बाघमाराको जमरा कुलोमा भेटिएको थियो । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले उनकै दिदी नाता पर्ने १५ वर्षीया किशोरी र उनकी साथीलाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय टीकापुरमा पत्रकार सम्मेलन गर्दै हत्या आरोपमा दुई युवतीलाई पक्राउ गरिएको जानकारी दिएको हो ।

जिल्ल प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले प्रारम्भिक अनुसन्धानको क्रममा विवेककी दिदी नाता पर्ने युवतीले हत्या गरेको स्वीकारेको बताए ।

‘प्रारम्भिक अनुसन्धानको क्रममा नाबालकको हत्या उनकै दिदीले गरेको देखिएको छ । दिदी नाता पर्ने युवतीले जमरा कुलोमा धक्का दिएर विवेकको हत्या गरेको स्वीकारेकी छिन्’, उनले भने ।

घरायसी रिसइबीका कारण बालकको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी अधिकारीले जानकारी दिए । किशोरीले बालकलाई जामुन खान भनी आफूसँगै लगेको र बालकले खुट्टामा लगाएको चाँदीका बाला निकालेर जमरा कुलोको किनारबाट धकेलेको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।

घटना खुल्ने डरले उनी साथीको घरमा गएर किताब लगेको र सोही समयमा चाँदीका बाला साथीलाई लुकाउन दिएको पनि अनुसन्धानबाट खुलेको छ ।

लम्कीचुहा नगरपालिका–६ घर भएकी १४ वर्षकी अर्की किशोरीलाई बाला लुकाउन दिएको र बजारमा बिक्रीको प्रयाससमेत गरेको देखिएको प्रहरीको भनाइ छ । उनीहरु दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार