माओवादी केन्द्र खारेजीको माग गर्दै पूर्वमाओवादी नेताले दिए निवेदन

नेकपा (माओवादी केन्द्र) को दर्ता खारेजीको माग गर्दै एमालेमा लागेका पूर्वमाओवादी नेताहरूले निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

माओवादी परित्याग गरेर एमालेमा गएको रामबहादुर थापा बादल समूहका नेताहरुले बुधबार आयोगमा निवेदन दिएका हुन् । माओवादीले २०६९ यता महाधिवेशन नगरेको र १३ साउन २०७३ मा पार्टी एकताका नाममा आयोगलाई झुक्याएको भन्दै उनीहरुले माओवादी केन्द्रको एकता खारेज गर्न माग गरेका हुन् । पूर्वमाओवादी नेता लीलाबहादुर थापाको नेतृत्वमा रामचन्द्र मण्डल, गिरिधारिलाल न्यौपाने, अधिवक्ता सरोज बुढाथाकीलगायतले बुधबार निर्वाचन आयोगमा निवेदन दर्ता गराएका हुन् ।

सर्वोच्च अदालतले २३ फागुनमा नेकपा खारेज गरेपछि एमालेमा लागेका सांसद टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई कारबाही गरेको थियो । यस्तै, तत्कालीन राष्ट्रिय सभा सदस्य रामबहादुर थापा र चन्द्रबहादुर खड्कालाई पनि कारबाही गरेको थियो । चार सांसद पदमुक्त भएको सूचना संसद् सचिवालयले प्रकाशित गरी आयोगलाई जानकारी गराएको थियो ।

माओवादी केन्द्रको हैसियत नेपालको संविधान र राजनीतिक दलसम्बन्धी ऐनअनुसार गुमिसकेको हुँदा दल दर्ता गरिपाउँ भनेर निवेदन आएको र त्यो दर्ता भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार