पर्वत बाढी : बगाएको गाडी भेटियो, बेपत्ताहरूको खोजी जारी

बाढीले युनाइटेड मोदीमा क्षति, उत्पादन बन्द

पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नं. ८ दोबिल्लाको सुन्दरे खोलामा मंगलबार राति पहिरोपछि आएको बाढीले बगाएको गाडी भेटिएको छ । अविरल वर्षातसँगै आएको बाढीका कारण मध्यरातमा प्रदेश ३–०१–०२३–३६४२ नम्बरको ३ जना सवार हाइलक्स गाडी बगाएको थियो । । गाडीसँगै बेपत्ता भएकाहरूको अवस्था भने अझै अज्ञात छ ।

घटनास्थलदेखि करिब ७०० मिटर तल मोदीखोलामा डुबेको अवस्थामा बुधबार दिउँसो गाडी भेटिएको हो । गाडी उर्लिएको मोदीखोलाको दोबिल्लातर्फको भागमा थोरै मात्र देखिएको पर्वत प्रहरी प्रमुख डीएसपी शिवराज बुढाथोकीले जानकरी दिए । बागलुङस्थित विपत् व्यवस्थापन गुल्मको टोलीले गाडी बाहिर निकाल्ने प्रयास गरिरहेको छ । ‘गाडीको केही भाग देखिएपछि डोरी लगाएर पुलीले तान्ने प्रयास भइरहेको छ,’ डीएसपी बुढाथोकीले भने, ‘ठूलो ढुंगामा अड्किएकाले निकाल्न कठिन भइरहेको छ ।’

बेपत्ता हुनेमा मध्यपहाडी लोकमार्गको पर्वतखण्ड निर्माण कम्पनी लामा कन्स्ट्रक्सनका मुख्य इन्जिनियर राजाराम आचार्य र गाडी चालक र अन्य एक परिचय नखुलेका व्यक्ति छन् । डीएसपी बुढाथोकीले बेपत्ता हुनेहरुको खोजीकार्य जारी रहेको जानकारी दिए ।

पहिरोका कारण मध्य पहाडी लोकमार्ग अवरुद्ध बनेको छ । बाढीले दोबिल्लामा करिब ५० मिटर सडक क्षतविक्षत बनाएको छ । पहिरोसहित आएको बाढीले खोलामाथिको कल्भर्ट, ग्याभिन जाली र मेसिनरी वाल बगाउँदा सडक रातिदेखि नै अवरुद्ध छ । बाढीले खोला किनारमा टहरो बनाएर व्यवसाय गर्दै आएका चारवटा पसलसमेत बगाएको छ । यसैगरि पहिरोले सडक बगाउँदा दोबिल्ला फलेबास सडक पनि अवरुद्ध बनेको छ ‌।

युनाइटेड मोदीमा क्षति, उत्पादन बन्द
बाढीले मोदीखोलामा सञ्चालित १० मेगावाट क्षमताको युनाइटेड मोदी हाइड्रोपावरमा समेत क्षति पुर्‍याएको छ । खोलाको बाँधदेखि पावरहाउससम्म पुग्ने नहरमा सुन्दरे खोलाको बाढीले क्षति पुर्‍याएपछि रातिदेखि नै उत्पादन रोकिएको हो । नहरमा बाढीसहित ठूल्ठूला ढुंगा पसेपछि राति नै पानी सुकाइएको त्यहाँ कार्यरत कर्मचारी भुवन अधिकारीले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार