राजविराजमा रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्ने, प्रमद्वारा शिलन्यास

लामो समयदेखिको जग्गा विवादले अन्योलमा परेको रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान मेडिकल कलेज राजविराजमा बन्ने निश्चित भएको छ ।

जग्गा विवादको निरूपण गराउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार काठमाडौँबाट भर्चुअल माध्यमबाट शिलान्यास गरेसँगै कलेज बन्ने निश्चित भएको हो । शिलान्याससँगै प्रतिष्ठान निर्माण कार्य अघि बढेको छ । सो अवसरमा प्रधानमन्त्री ओलीले प्रतिष्ठान निर्माणको काम पूरा भएपछि सप्तरी जिल्लाको आर्थिक विकासमा ठूलो मद्दत पुग्ने विश्वास ब्यक्त गरेका छन् ।

२०७५ भदौ १ गते प्रधानमन्त्री ओलीले प्रदेश २ को प्रदेश सभालाई सम्बोधन गर्दै राजविराजमा गणतन्त्रवादी नेता रामराजा प्रसाद सिंहको नाउँमा मेडिकल कलेज स्थापना गर्ने घोषणा गरेका थिए । जसका लागि राजविराज नगरपालिकाले १० नं. वडा बिरौलस्थित हुलाकी राजमार्ग छेउमा ६२ विगाहा जग्गा उपलब्ध गराएको थियो । तर, उक्त जग्गा यसअघि नै नगरपालिकाले कृषि हाट बजारका लागि लिजमा दिइसकेको भन्दै स्थानीय एक सहकारी संस्थाले दाबी गरेपछि विवाद भएको थियो ।

झन्डै १२ अर्बको लागत रहेको प्रतिष्ठान निर्माण कार्य तिब्र गतिमा बढाउने र पाँच वर्ष भित्र सम्पन्न गरि सञ्चालनमा ल्याई सकिने लक्ष्य रहेको रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार