कालापत्थरबाट ‘स्काई डाइभ’ गरेर विश्व कीर्तिमान

भारतकी व्यावसायिक ‘स्काई डाइभर’ शीतल महाजनले सगरमाथा क्षेत्रको कालापत्थरबाट ‘स्काई डाइभ’ गरेर विश्व कीर्तिमान कायम गरेकी छन् ।

कालापत्थरमा पाँचहजार तीन सय १७ मिटर उचाइबाट स्काई डाइभ गरेर महाजनले महिलातर्फ नयाँ रेकर्ड कायम गर्दै गिनिजबुक अफ वर्ल्ड रेकर्डमा दर्ता गराएकी हुन् ।

यसअघि कालापत्थरमा महिला स्काइ डाइभरको पाँचहजार तीन सय ४२ मिटरको रेकर्ड कायम थियो । महाजनले उक्त रेकर्ड तोडेर विश्व कीर्तिमान कायम गरेकी हुन् । न्युजिल्यान्ड र अमेरिकाका दुई स्काइ डाइभरको रेकर्ड थियो ।

एकचालिस वर्षीय महाजन भारतको पुनेकी स्काई डाइभ र खेलकुद क्षेत्रमा सक्रिय छिन् । उनले भारतको प्रसिद्ध पद्यमश्री पुरस्रकार प्राप्त गरिसकेकी छन् । ‘एभरेस्ट स्काई डाइभ’ कम्पनीमार्फत गएकी महाजनले ११ नोभेम्बरदेखि १३ सम्म सगरमाथा क्षेत्रबाट चारपटक ‘स्काई डाइभ’ गरेर कीर्तिमान कायम गरेको कम्पनीले जनाएका अध्यक्ष सुमन पान्डेले जानकारी दिए ।

महाजनको रेकर्ड गिनिजबुक अफ वर्ल्ड रेकर्डमा दर्ता भएको छ । रेकर्ड प्रमाणित गर्न कागजात वर्ल्ड रेकर्डका प्रतिनिधिलाई काठमाडौंमा आयोजिक एक कार्यक्रमबीच हस्तान्तरण गरिएको छ । यो याममा १० जनाले स्काई डाइभ गरेको कम्पनीले जनाएको छ ।

उक्त कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं सांसद डोलप्रसाद अर्यालले विश्व रेकर्ड राखेकामा महाजनलाई बधाई दिँदै यस्ता साहसिक क्रियाकलापले नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

स्काई डाईभर महाजनले लामो समयदेखिको आफ्नो सपना पूरा भएकोमा खुसी व्यक्त गर्दै नेपालको पर्यटन प्रवर्द्धनमा आफू सक्रियरूपमा लाग्ने बताइन् । एभरेस्ट स्काई डाइभका अध्यक्ष सुमन पाण्डेका अनुसार एभरेस्ट स्काई डाइभ असाध्यै आकर्षक र साहसिक खेलको रूपमा चर्चित छ । चर्चित अन्तर्राष्ट्रिय मिडिया सीएनएनले जीवनभरमा गर्नुपर्ने साहसिकमध्ये स्काई डाइभलाई पाँच नम्बरमा राखेको छ ।

“धेरै विदेशी नागरिक सगरमाथा आरोहण र पदयात्रा गर्न आउँछन् । तर, सगरमाथा आरोहण गर्न नसक्नेलाई सगरमाथाको उचाइबाट स्काई डाइभ गर्ने फरक दृष्टिकोणबाट सगरमाथाको अवलोकन गर्छन् । यो पनि मूल्यवान कुरा हो । उनीहरूले ‘स्टोरी’ लिएर जान्छन् । यसले नेपाल गन्तव्यको प्रवर्द्धन हुन्छ,” अध्यक्ष पाण्डेले भने ।

स्काई डाईभ एक साहसिक खेल पर्यटन हो । विश्वभर सात लाख स्काई डाइभर रहेको बताइन्छ । दुबईमा समुद्रबीचको टापुमा स्काई डाइभ गरिन्छ । मरुभूमिमा पनि यो साहसिक खेल खेलिन्छ । इजिप्टमा पिरामिडको अगाडि स्काई डाइभ हुन्छ । स्काई डाइभमा एरियल फोटोग्राफी हुन्छ । जुन जीवनकालकै बहुमुल्य हुन्छ । नेपालको स्काइ डाईभमा पछाडि सगरमाथा पारेर फोटो लिइने हुनाले विश्वभरबाट स्काइ डाइभको आकर्षण हुन्छ ।

मौसम पनि अनुकूल हुनुपर्ने भएकाले हरेक वर्ष १० देखि १२ जनासम्मले नेपालमा स्काइ डाइभ गर्ने गरेको अध्यक्ष पाण्डेले बताए । स्काइ डाइभको माध्यमबाट नेपालको साहसिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने उनले उल्लेख गरे ।

नेपालमा सन् २००८ मा एभरेष्ट स्काई डाइभ सुरु भएको हो । यसले धेरै विश्व रेकर्ड कायम भएको छ । कोभिडको वर्ष सन् २०२० बाहेक हरेक वर्ष स्काइ डाइभ हुँदै आएको छ । सन् २००९ मा हाईएस्ट ‘स्काई डाइभ’ कालापत्थरमा भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार