रेशमलाई आममाफीविरुद्ध रिटको सुनुवाइ न्यायाधीश रेग्मीको इजलासमा 

काठमाडौँ– नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीको कैद मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको छ । उक्त रिट तिहारअघि कात्तिक २३ र २४ गते न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो । तिहार पछि आज अदालत खुलेसँगै रिट न्यायाधीश रेग्मीको इजलासमा परेको हो ।

टीकापुर घटनामा सर्वोच्च अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएका चौधरीलाई सरकारको सिफारिसमा आममाफी दिइएपछि सो घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायतले दायर गरेको रिटमा सुनुवाइ हुन लागेको हो । कडायतले राष्ट्रपतिको निर्णय खारेज गरेर चौधरीलाई पूरै कैद भुक्तान गराउन माग गर्दै गत जेठ १६ गते सर्वोच्चमा रिट दिएकी थिइन् । मन्त्रिपरिषद्को सिफारिसमा गत जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा चौधरीको जन्मकैदको सजाय मिनाहा गरिएको थियो ।

सर्वोच्चले चौधरीलाई कैलालीको टीकापुर घटनामा दोषी ठहर गर्ने तल्लो तहका अदालतको फैसला सदर गरेको थियो । तर उक्त फैसलाको पूर्णपाठ नआउँदै कैद मिनाहा गरिएको थियो । २०७२ साल भदौ ७ गते कैलालीको टीकापुर नगरपालिकामा थरुहट समर्थक प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा प्रहरी बरिष्ठ उपरीक्षक सेती अञ्चलका प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित नेपाल प्रहरीका ५ जना तथा सशस्त्रका २ र १ बालक सहित ८ जना मारिएका थिए ।

आठजनाको ज्यान जानेगरी भएको घटनाको मुख्य योजनाकार चौधरी रहेको सर्वोच्चले ठहर गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार