नेपाली सेनाले खुला फोटो प्रतियोगिता आयोजना गर्दै, प्रथम पुरस्कार ५० हजार

नेपाली सेनाले सेना दिवस तथा महाशिवरात्रि–२०८० को अवसरमा खुला फोटो प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार नेपाली सेनाका विभिन्न गतिविधि देखिने गरी खिचिएका फोटोहरूलाई प्रतिस्पर्धामा सहभागी गराइने छ । प्रतियोगितामा इच्छुक आम नेपाली नागरिकले प्रतिस्पर्धा गर्न पाउने छन् ।

नेपाली सेनाको अपरेशनल गतिविधि, तालिम, खेलकुद, नागरिक सैनिक सहकार्य सम्बन्धी गतिविधिहरू, समारोह, उत्सव तथा राष्ट्र विकास, उद्धार, विपद् व्यवस्थापन, संयुक्त राष्ट्रसङ्घीय विश्व शान्ति स्थापना कार्य, प्रकृति संरक्षण र परम्परा, सांस्कृतिक गतिविधिहरू लगायतका विषयमा आधारित रही खिचिएका तस्वीरहरू प्रतिस्पर्धामा सहभागी गराइने नेपाली सेनाले बताएको छ ।

प्रतिस्पर्धामा सहभागी हुन इच्छुकले आउँदो मङ्सिर २१ गते भित्रमा आफ्नो फोटो नेपाली सेनालाई प्रेषण गरिएको हुनुपर्ने भनिएको छ । प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय र सान्त्वना हुनेले पुरस्कार स्वरूप क्रमशः ५० हजार, ३५ हजार, २५ हजार र १० हजार रूपैयाँ पाउने छन् । नेपाली सेना दिवस तथा महाशिवरात्रिको अवसरमा आयोजना हुने ‘बृहत् फोटो प्रदर्शनी–२०८०’ मा उत्कृष्ट तस्वीरहरू प्रदर्शन गरिने छ ।

प्रतियोगिताका नियमहरूमा एउटै व्यक्तिले धेरै तस्वीरहरू समेत पठाउन सक्ने, जुनसुकै क्यामेराले खिचिएका तस्वीरहरू पनि स्वीकार हुने, पेस गरिएका तस्वीरहरू एक वर्षभन्दा पुरानो हुन नहुने, १८ वर्ष उमेर भन्दा माथिका व्यावसायिक वा गैर व्यावसायिक फोटोग्राफरहरूले प्रतियोगितामा भाग लिन पाउने भनिएको छ । प्रतियोगिताको लागि पेस गरिएका तस्वीरहरू आफैले खिचेको हुनुपर्ने छ भने प्रतियोगिताका लागि पठाइने तस्वीरहरू व्यापारिक रूपमा प्रयोग नगरिएको, अन्य कुनै पनि मिडिया वा सामाजिक सञ्जालमा प्रकाशन नभएको हुनुपर्ने छ ।

यस्तै अरूको नाममा (तेस्रो पक्षले) फोटोहरू पेस गर्न नहुने, गोपनीयताको अधिकारलाई हनन नगरेको हुनुपर्ने, प्रतियोगितामा पेस गरेका तस्वीरहरूको प्रतिलिपि अधिकार नेपाली सेनालाई दिनुपर्ने, पेस गरेका तस्वीरहरूको ‘स्याचुरेसन’, ‘कन्ट्रयास्ट’, ‘ब्राइटनेस’, ‘सार्पनेश’, ‘टेम्परेचर अफ कलर’ र ‘ह्वाइट ब्यालेन्स एन्ड क्रपिङ’ गरिएका तस्वीरहरू पनि स्वीकार्य हुने सेनाले बताएको छ । तर कम्प्युटर तथा सफ्टवेयरको माध्यमबाट हेरफेर गरिएका, भिडियोलाई ‘स्क्रिन सट’ गरिएका तस्वीरहरू भने स्वतः अयोग्य हुनेछन् ।

प्रतियोगितामा सहभागिताको लागि नेपाली सेनाको वेबसाइट मार्फत तस्वीरहरू अपलोड गर्नु सकिने वा जनसम्पर्क तथा सूचना निर्देशनालय, भद्रकाली, काठमाडौंमा डिजिटल प्रतिलिपि बुझाउन सकिने छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार