काठमाडौंमा सीप मेला हुँदै, एक महिनामा २०८१ जनाले रोजगारी पाउने

काठमाडौंमा सीप मेला आयोजना हुने भएको छ । काठमाडौं महानगरपालिकाले काठमाडौंको टुँडिखेलमा भोलि (वैशाख १९ गते) बाट सो मेलाको आयोजना गर्ने भएको हो ।

मंगलवार पत्रकार सम्मेलन गरी उपमेयर सुनिता डंगोलले सो मेलामार्फत एक महिनामा २ हजार ८१ जनालाई रोजगारीमा जोड्ने उद्देश्य रहेको बताइन् ।

शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग र श्रमलाई बजारसँग जोडनका लागि सो मेलाको अवधारणा अघि सारिएको पनि उनले स्पष्ट पारिन् ।

उपमेयर डंगोलले भनिन्, ‘सीप मेला । सिप मेला कार्यक्रम २०८१ को शुभारम्भसँगै हामीले कम्तिमा २०८१ जनालाई सीप मेलाको कार्यक्रममार्फत रोजगारीसँग जोड्ने हामीले उद्देश्य लिएका छौं । त्यो उद्देश्य स्वरुप सीप मेला भने भोलि शुभारम्भ हुँदैछ ।’

उनले थपिन्, ‘त्यसको साथसाथै हामीले शिक्षा बढेका कुराहरुलाई सीपसँग जोड्नुपर्छ । र सीपलाई भने श्रमसँग जोड्नुपर्छ । र श्रमलाई बजारसँग जोड्नुपर्छ । यसरी जोडदै जानुपर्छ भनेर सीप मेलाको अवधारण अघि सारेका छौं । र त्यसबाट भने हामीले तीन वटा मुख्य कामलाई प्राथमिकतामा राखेका छौं ।’

मेलामा तालिमका लागि अटो मोबाईल्स, हस्पिटालिटी एण्ड म्यानेजमेण्ट, सूचना प्रविधि, वेल्डिङ, गार्मेन्टस, व्युटिसिएन, डिजाईनिङ र पुरोहित रहेका छन् । सो तालिमको अन्तिम दिन रोजगार मेला पनि हुने काठमाडौं महानगरपालिकाले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार