ओली र नेपालको रिस शान्त नभएसम्म पार्टी एकता हुँदैन : वामदेव गौतम

अदालतको फैसलापछि पार्टी एकता हुने ठोकुवा

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी एकता हुन अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालको रिस शान्त हुनुपर्ने बताएका छन् । राष्ट्रियसभाको बैठकपछि संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले अध्यक्ष ओली र नेता नेपाल एक आपसमा रिसाएको र सो रिस शान्त नभएसम्म दोश्रो तहका नेताको प्रयास पनि सार्थक नहुने बताए ।

आफू भने पार्टी एकता गर्नुपर्छ भनेर अध्यक्ष ओली तिर लागेको र त्यसका लागि दुवै नेताको रिस शिथिल पार्ने प्रयासमा जुटेको बताए । उनले सर्वोच्च अदालतको फैसलापछि पार्टी एकता हुने ठोकुवा गरेका छन् ।

उनले भने, ‘एकै ठाउँ भएपछि त एकताको आवश्यकता नै पर्दैन नि । दुईतिर तिनतिर बाँडिएकाहरुलाई नै एकता गराउने हो । अहिले हाम्रो पार्टीमा माधव, झलनाथ एकातिर केपी एकातिर हुनुभयो । पार्टी एकता गराउनकै निम्ति भनेर म केपी ओलीतिर लाग्या छु । मैले एकताको प्रस्ताव अस्ति केन्द्रीय कमिटीको बैठकमा राखेँ । हलले नै मलाई एकताको प्रयत्न मुख्य कुरा बामदेवले गर्नुपर्छ भन्ने पास गरेको छ ।’

उनले यस्तो बेलामा नआत्तिकन सबै साथीहरुलाई धैर्यधारण गरेर प्रत्यन्त गर्न आफूले अरु नेताहरुलाई सुझाएको बताएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार