काठमाडौं महानगरभित्रका यी सडक आजदेखि ‘वान-वे’

काठमाडौं महानगरपालिकाले महानगरभित्र विभिन्न स्थानका सडकहरू आजदेखि एकतर्फी (वान- वे) बनाइएका छन् ।

महानगरभित्र दोहोरो सवारी सञ्चालन भइरहेका तीनवटा सडक खण्डमा आजदेखि एकतर्फी सवारी सञ्चालन गर्ने व्यवस्था गरेको हो ।

काठमाडौं र ललितपुर जोड्ने सेतोपुल, गुसिङ्गाल, मिलनमार्ग हुँदै त्रिपुरेश्वर आउने सडकखण्ड एकतर्फी बनाइएको महानगरपालिकाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठले जानकारी दिए ।

‘त्रिपुरेश्वरबाट ललितपुर जोड्ने सेतोपुल, गुसिङ्गाल, मिलनमार्ग सडकखण्डमा प्रवेश गर्न पाइँदैन,’ उनले भने, ‘त्यस्तै त्रिचन्द्र क्याम्पसबाट गणेशस्थान, प्रज्ञा प्रतिष्ठान भवन हुँदै कमलादी आउने बाटो समेत एकतर्फी बनाइएको छ । जमलको बाटो हुँदै प्रज्ञा प्रतिष्ठान जान पाइँदैन ।’

श्रेष्ठका अनुसार पुतलीसडकबाट काठमाडौं प्लाजा हुँदै हात्तीसारतर्फ सडकखण्डमा अब प्लाजाबाट बाँया मोड्न पाइने छैन । त्यहाँदेखि महेन्द्र शालिकसम्मको सडकलाई एकतर्फी बनाइएको छ । यसबारे केही दिनसम्म सडक संकेत राखेर सर्वसाधरणलाई जानकारी गराइने बताइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार