एसियन गेम्स : आज बंगलादेशसँग भिड्दै नेपाली महिला फुटबल टोली

१९औँ एसियन गेम्सअन्तर्गत महिला फुटबलको आफ्नो समूह चरणको अन्तिम खेलमा आज (बिहीबार) नेपाल र बंगलादेश भिड्दै छ ।

खेल वानझाउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा स्थानीय समयानुसार दिउँसो १:४५ बजे सुरु हुनेछ ।

यसअघिका दुई खेलमा लगातार हार भोगेका नेपाल र बंगालदेश दुवै जितका साथ एसियाडको सुखद अन्त्य गर्ने योजनामा छन् ।

समूह चरणको आफ्नो पहिलो खेलमा नेपाल भियतनामसँग २–० गोल अन्तरले पराजित भएको थियो। जापानसाग भने ८–० को फराकिलो हार व्यहोरेको थियो ।

उता आफ्नो पहिलो खेलमा बंगलादेश जापानसँग ८–० कै फराकिलो अन्तरले पराजित भएको थियो समूह चरणको दोस्रो खेलमा भियतनामलाई ६–१ को नतिजा सुम्पेको थियो । समूह डीमा रहेका नेपाल र बंगालदेशले आजको खेलसँगै एसियाड यात्रा अन्त्य गर्नेछन् ।

पछिल्ला ३ खेल हेर्ने हो भने नेपालले बंगलादेशलाई हराउन सकेको छैन । गत वर्ष घरेलु मैदानमा भएको साफ च्याम्पियनसिपको फाइनलमा नेपाल बंगलादेशसँग हारेको थियो ।

त्यसयता नेपालले बंगालदेशलाई जित्न सकेको छैन । यसअघि बंगालदेशमा नै भएको दुई मैत्रीपूर्ण खेलमा नेपाल र बंगालदेशले बराबरी गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार