दीपेन्द्र बने क्रिकेट इतिहासकै सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने ब्याटर

नेपालका अलराउन्डर दीपेन्द्र सिंह क्रिकेट इतिहासकै सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने ब्याटर बनेका छन् । दीपेन्द्रले १९ औं एसियाली खेलकुदमा मंगोलियाविरुद्ध टि२० आई खेलमा ९ बलमै अर्धशतक प्रहार गरेका हुन् ।

यसअघि टि२० आईमा सर्वाधिक छिटो अर्धशतक भारतीय ब्याटर युवराज सिंहले २००७ मा इंग्ल्यान्डविरुद्ध १२ बलमै अर्धशतक पूरा गरेका थिए ।

ओडिआईमा २०१५ मा दक्षिण अफ्रिकाका एवि डिभिलियर्सले वेस्टइन्डिजविरुद्ध १६ बलमै अर्धशतक हानेका थिए । २०१४ मा मिस्बाह उल हकले टेस्टमा अष्ट्रेलियाविरुद्ध २१ बलमा अर्धशतक प्रहार गरेका थिए ।

अन्तर्राष्ट्रिय कुनैपनि खेलमा सर्वाधिक छिटो अर्धशतकको कीर्तिमान बनाएका हुन् । दीपेन्द्रले १९ औं ओभरको अन्तिम पाँच बलमा लगातार पाँच छक्का हानेका थिए । २० औं ओभरको दोस्रो बलमा पनि छक्का हान्दै ६ बलमा ६ छक्का हानेका थिए ।

 नेपालले मंगोलिया विरुद्ध ३१४ रनको कीर्तिमानी स्कोर बनाएको छ । हान्झाउस्थित जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी फिनफेङ क्रिकेट फिल्डमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर ३१४ रन बनाएको हो ।

नेपालक लागि कुशलले अविजित रहँदै सर्वाधिक १३७ रन बनाए । उनले ५० बल खेल्दै ८ चौका र १२ छक्का प्रहार गरे । कुशलले ३४ बलमै शतक पूरा गर्दै डेविड मिलर, रोहित शर्मा र सुदेश विक्रमाशेखरको ३५ बलको कीर्तिमान तोडे ।

यस्तै रोहितले २७ बल खेल्दै २ चौका र ६ छक्का मद्दतमा ६१ रन बनाए । कुशल र कप्तान रोहित पौडेलले तेस्रो विकेटका लागि १९३ रनको साझेदारी गरे ।

त्यसपछि आएका दीपेन्द्र सिंह ऐरीले विष्फोटक ब्याटिङ गरे । उनले १० बल मात्र खेल्दै ८ छक्का मद्दतमा अविजित ५२ रन बनाए । दीपेन्द्रले ९ बल खेल्दा ८ छक्का र एक बलमा २ रन लिँदै ९ बलमै अर्धशतक पूरा गरेर कीर्तिमान बनाएका हुन् 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार