एमाले बागमती अधिवेशनको बन्दसत्र आज

नेकपा एमालेको बागमती प्रदेश अधिवेशनको बन्दशत्र आज (मंगलबार) बिहानबाट सुरु हुँदैछ । काठमाडौंको भृकुटीमण्डपमा सोमबार अधिवेशन उद्घाटन गरिएको थियो ।

बन्दसत्र भने प्रज्ञा भवन कमलादीमा गर्ने तयारी छ । बन्द सत्रमा प्रदेश कमिटीका निवर्तमान अध्यक्ष केशव पाण्डेले राजनीतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दैछन् ।

अधिवेशनका लागि एक हजार ८० जना प्रतिनिधि छनोट भएका छन् । छनोट भएका प्रतिनिधिमध्ये ३३ प्रतिशत महिला र ४० वर्ष मुनिका युवा १० प्रतिशत छन् ।

एक लाख नौ हजार २३८ प्रतिनिधिबाट उनीहरु छनोट भएका हुन् । यो अधिवेशनबाट ५ जना पदाधिकारी सहित एमालेको २४० सदस्यीय प्रदेश कमिटी चयन हुनेछ ।

अध्यक्षको प्रतिवेदन प्रस्तुत भएपछि नेतृत्व चयन प्रक्रिया सुरू हुने एक नेताले जानकारी दिए । एमालेको बागमती प्रदेश कमिटीको नेतृत्व सर्वसम्मतीबाट चयन हुने सम्भावना देखिएको छैन ।

पहिलो पटक हुन लागेको बागमती प्रदेश अधिवेशनमा नेतृत्वसहितका पदमा दुईभन्दा बढी आकांक्षी भएपछि चुनावबाटै छिनाफानो हुनसक्ने बागमती प्रदेश कमिटी अध्यक्ष केशव पाण्डेले बताए ।

काठमाडौं उपत्यकासहित १३ जिल्ला रहेको बागमती प्रदेश कमिटीको नेतृत्वका लागि मकवानपुरका कृष्णप्रसाद दाहाल र रामेछापका कैलाश ढुङ्गेलबीच प्रतिस्पर्धा हुने सम्भावना बढी छ । तर, वर्तमान अध्यक्ष नुवाकोटका केशव पाण्डे फेरि दोहोरिने प्रयासमा छन् ।

पोलिटब्युरो सदस्य महेश बस्नेतले केशव पाण्डेलाई र सानु श्रेष्ठले कैलाश ढुङ्गेललाई समर्थन गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार