पेटभित्र हालेर एक किलोभन्दा बढी कोकिन ल्याउने विदेशी महिला पक्राउ

प्रहरीले कोकिनसहित एक विदेशी महिलालाई पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले दुबईबाट आएकी कंगोकी ४९ वर्षीया अपुला इकुसु म्बोङ्गोलाई पक्राउ गरेको हो ।

उनको साथबाट प्रहरीले एक किलो १०१ ग्राम कोकिन बरामद गरेको हो । ब्युरोका अनुसार उनी जेठ ४ मा दुबईबाट काठमाडौँ आएकी थिइन् । शंकास्पद र पुर्वसूचनाका आधारमा ब्यूरोको टोलीले उनको निगरानी गरिरहेको थियो । सोही क्रममा कोकिन ल्याएको भन्ने पुष्टि भएपछि उनी बसेको कोठा खानतलासी गर्दा ह्याण्ड ब्यागभित्र प्लाष्टिकले र्‍याप गरेको अवस्थामा ८५ थान कोकिनका क्याप्सुल बरामद गरिएको ब्यूरोका एसपी तथा प्रवक्ता रामेश्वर कार्कीले बताए ।

अनुसन्धानका क्रममा उनले क्याप्सुल निलेर पेटभित्र लुकाएर ल्याएको खुलेको एसपी कार्कीले बताए । पक्राउ परेका अपुलाविरुद्ध लागु औषधको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

बरामद कोकिनको अवैध बजार मूल्य ३ करोढ ८५ लाख रहेको प्रहरीले जनाएको छ । अन्तराष्ट्रिय लागु औषध गिरोहले उनलाई भरियाको रुपमा प्रयोग गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार