भू–तथा जलाधार रामेछापका प्रमुखले कार्यालयमै मदिरा पिएर होहल्ला गरेपछि प्रहरीले लियो नियन्त्रणमा (भिडियोसहित)

भू तथा जलाधार कार्यालय रामेछापका प्रमुख सुरेश दाहाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । मदिरा सेवन गरी कार्यालय पुगेका दाहाललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

सोमबार बिहानै कार्यालयमै मादक पदार्थ सेवन गरेर होहल्ला गरेपछि सुरुमा स्थानीयले वडा नम्बर ८ का अध्यक्ष सन्तोष तामाङलाई खबर गरेका थिए । वडाध्यक्ष तामाङकै पहलमा मदिराले लठ्ठिएर होहल्ला गर्दै गरेको अवस्थामा उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनले कार्यालयमा पुगेर गालीगलौज र अपशब्द बोलेको बताइएको छ ।

दाहाललाई बा १ झ ८३६१ नम्बरको स्कारपियोमा राखेर जिल्ला प्रहरी कार्यालय लगिएको थियो । जिप्रका रामेछापले दिएको जानकारी अनुसार अहिले उनी प्रहरी नियन्त्रणमै छन् । मदिरा सेवन गरी कार्यालयमा गएको र होहल्ला मच्चाएको भन्ने जानकारी आएपनि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

दाहाल कार्यालयकै भवनमा बस्ने गर्छन् । उनलाई सरकारले नै क्वार्टर उपलब्ध गराएको छ । आज सार्वजनिक विदा भएपनि उनी मदिरामा लठ्ठिएर बिहानै कार्यालय पुगेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार