विप्लव भन्छन्- प्रधानमन्त्रीको ध्यान कुर्सी जोगाउनमै केन्द्रित छ

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले कुर्सी जोगाउनेमा ध्यान केन्द्रित हुँदा प्रधानमन्त्रीले प्रभावकारी काम गर्न नसकेको बताएका छन् ।

बेपता योद्धा परिवार समाजले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा विप्लवले प्रधानमन्त्रीको ध्यान सत्ता समीकरणलाई मिलाउँदै कुर्सी बचाउनमा नै केन्द्रित भएको भन्दै यसका कारण प्रभावकारी ढंगले काम गर्न नसकेको बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पाँच वर्षे योजना बनाएर काम गर्न दिए सरकारले राम्रोसँग काम गर्न सक्ने उनको भनाइ छ । विप्लवले सबैलाई मिलाउन खोज्दा बजेट पनि राम्रो ढंगले आउन नसकेको बताए । बजेटप्रतिको असन्तुष्टि हेर्दा मिलेर बाँडेर खानेबाहेक केही नदेखिएको उनले बताए ।

त्यस्तै विप्लवले अमेरिकालाई खुसी पार्न एमसीसीमा सम्झौता गरेको भन्दै अब अमेरिकाले निरन्तर नेपाललाई च्याप्दै जाने र त्यसको शिकार प्रधानमन्त्री हुने बताए । उनले माओवादीहरूले अब आफूलाई नबदल्ने हो भने भयानक बिचल्लीमा पर्ने बताए ।

जनयुद्धका क्रममा राज्यबाट पीडितहरुको न्यायलाई राज्यको बन्दुकको छाँयाले दबाएर राखेको उनले बताए । उनले सत्ताको बन्दुक हाबी भएकाले जनताको सन्तुष्टीलाई पुरा गर्ने गरि आन्दोलन हुन नसकेको पनि बताएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार