नेपाल पक्षको बैठकमा दिल्लीमा उपचाररत खनाल पनि सहभागी

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षको स्थायी कमिटी बैठक काठमाडौंको बुद्धनगरस्थित एक बैंकेटमा जारी छ ।

बैठकमा वरिष्ठ नेता झलनाथ खनाल पनि सहभागी भएका छन् । दिल्लीमा उपचाररत नेता खनाल भिडियोमार्फत जोडिएका हुन् । खनालबाहेकका नेताहरु भने भौतिक रुपमै बैठकमा सहभागी भएका छन् ।

बैठकमा एमाले संस्थापन समूहले बुधबार गरेका निणर्यहरुबारे समीक्षा गरिने केन्द्रीय सदस्य गंगा तुलाधरले जानकारी दिए ।एमालेलाई जेठ २ अघिको अवस्थामा फर्काउन माधव समूहले माग गरिरहेको छ ।

तर बुधबार बसेको संस्थापन समूहको बैठकले दशौँ महाधिवेशन आयोजक समितिलाई केन्द्रीय समितिमा रुपान्तरण गर्दै माओवादी पृष्ठभूमिका केही नेताहरुलाई स्थायी कमिटि सदस्यमा मनोनित गरेको थियो ।

यो निर्णयप्रति माधव समूहका नेताहरुले पार्टी अध्यक्ष केपी ओलीबाट फेरि पनि षड्यन्त्र र दाउपेचको राजनीति भएको प्रतिक्रिया जनाएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार