अर्थतन्त्र योभन्दा कमजोर बन्ने ठाउँ छैन, अब चलायमान हुन्छ : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आउँदा दिनमा अर्थतन्त्र थप चलायमान बन्ने बताएका छन् ।

आज शुक्रबार काठमाण्डौको नयाँ बानेश्वरमा अभिनेता दीपकराज गिरी र अभिनेत्री दीपाश्री निरौलाको आईएनआई सिनेमा हलको उद्घाटन गर्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् । उनले अर्थतन्त्र योभन्दा पनि तल खस्किने ठाउँ नरहेको भन्दै अबका दिनमा अर्थतन्त्रले लय समात्ने उल्लेख गरे ।

अध्यक्ष ढकालले व्यावसायिक गतिविधि बढेमात्रै अर्थतन्त्र चलायमान बन्ने बताए । उनले कोरोना भाइरसको सङ्क्रमणपछि अर्थतन्त्र कमजोर बन्दै गएको र व्यावसायिक माहोल बिग्रँदै गएको अवस्थामा सिनेमा हल खुल्नुले आममानिसमा सकारात्मक ऊर्जा थपिने विश्वास व्यक्त गरे ।

उनले भने, ‘कोभिडपछि आर्थिक गतिविधि कम भइरहेको अवस्थामा सिनेमा हल सञ्चालन गरेर जुन म्यासेज दिनुभएको छ, त्यसका लागि पनि धन्यवाद छ । व्यावसायिक गतिविध जति बढ्छन्, त्यति नै अर्थतन्त्र चलायमान हुँदै जान्छ । अब आउने दिन राम्रो हुनेछ । योभन्दा तल झर्ने अवस्था छैन ।’

अध्यक्ष ढकालले एउटा कलाकारले मेहनत गर्‍यो भने सिनेमा हलको मालिक पनि हुनसक्ने रहेछ भन्ने स्पष्ट सन्देश गएको बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार