नेपालगञ्ज विमानस्थलबाट स्रोत नखुलेको २६ लाख रुपैयाँसहित कर अधिकृत पक्राउ

प्रहरीले नेपालगन्ज विमानस्थलबाट २६ लाख नगदसहित नेपाल सरकारका एक जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा आन्तरिक राजस्व कार्यालय तुलसीपुरका कर अधिकृत खगेन्द्र सापकोटा छन् ।

विमानस्थलमा सुरक्षा जाँचका क्रममा सापकोटाको झोलामा ठूलो मात्रामा नगद फेला परेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी नारायण डाँगीले जानकारी दिए ।

नेपालगञ्जबाट श्री एयरलाइन्सको जहाजमार्फत् काठमाडौं आउन लागेका उनलाई सोमबार बिहान विमानस्थलबाट पक्राउ गरिएको डीएसपी डाँगीले बताए । सापकोटासँगै अर्का कर्मचारी दीपक पौडेल पनि रहेका थिए । उनी भने फरार भएका छन् ।

‘विमानस्थल भित्र सुरक्षाकर्मीले चेकजाँचका क्रममा सोधपुछ थालेपछि सापकोटाको साथमै रहेका अर्का कर्मचारी पौडेल सुटुक्क भाग्न सफल भएको भन्ने छ,’ डिएसपी डाँगीले भने, ‘पक्राउ परेका व्यक्तिलाई अख्तियारको जिम्मा लगाइएको हुँदा थप अनुसन्धान उतैबाट हुने आशा छ ।’

फरार कर्मचारी पौडेलको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार