प्रधानमन्त्रीलाई रास्वपाको सुझाव : चीन जाँदा भारतमा जस्तो जम्बो टोली नलैजानु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आसन्न चीन भ्रमणको सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ७ बुँदे सुझाव दिएको छ ।

प्रधामनन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार आयोजना गरेको सर्वदलीय बैठकमा ७ बुँदे लिखित सुझाव दिएको रास्वपा उपसभापति डीपी अर्यालले जानकारी दिए ।

उपभापति अर्यालका अनुसार प्रधानमन्त्रीलाई यसअघिका भ्रमणमा जस्तो जम्बो टोली लिएर नजान भनिएको बताएका छन् ।

‘यसअघि जस्तो जम्बो टोली लिएर गएको विषयमा हामीले त्यस्तो गल्ती नदोहोर्‍याउन भनेका छौँ’, उनले भने, ‘भारत भ्रमणमा जाँदा टोलीका सदस्यले अनुशासन पालना नगरेको विषय बैठकमा लिखित रुपमा राखेका छौँ । भारत जाँदा जस्तो भद्रगोल चीन जाँदा नदोहोरियोस् भनेका छौँ ।’

चीनले सार्वजनिक गरेको नक्सामा नेपालको चुच्चे नक्सा नसमेटिएको विषयमा जनताले थाहा पाउनेगरी कुरा उठाउन सुझाव दिइएको अर्यालले बताए । नेपालले जेठ २०७७ मै कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गरेको भए पनि चीनले हालै सार्वजनिक गरेको नक्सामा नेपालको पुरानै नक्सा छ ।

भदौ ३० गते संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकाको न्युयोर्क जान लागेका प्रचण्ड त्यतैबाट असोज ४ गते चीन भ्रमणमा जाने कार्यक्रम छ ।

सर्वदलीय बैठकमा आसन्न चीन भ्रमणका बेला सरकारले अपनाउनु पर्ने सावधानीबारे सल्लाह सुझाव आएको परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार