मलंगवामा कर्फ्यु हट्यो, जुलुश र भेला गर्न भने निषेध

सर्लाही सदरमुकाम मलंगवाको अवस्था सामान्य बन्दै गएपछि स्थानीय प्रशासनले कर्फ्यु हटाएको छ ।

मलंगवाको अवस्था सामान्य बन्दै गएकाले आज बिहानबाट कर्फ्यु हटाइएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

दुई पक्षबीचको झडपले अवस्था तनावग्रस्त बनेपछि स्थानीय प्रशासनले शनिबार साँझ पाँच बजेदेखि आइतबार बिहान ८ बजेसम्मका लागि मलंगवा क्षेत्रमा कर्फ्यु जारी गरेको थियो । कर्फ्यु आदेश हटे पनि २७ गतेसम्म निषेधाज्ञा भने जारी गरिएको छ ।

‘कर्फ्यु हटाइए पनि निश्चित क्षेत्रमा भेला जुलुश गर्न भने प्रतिबन्ध लगाएको छ,’ प्रजिअ यादवले भने, ‘अहिले यहाँको अवस्था सामान्य छ । मानिसहरुको आवतजावत खुला भएको छ ।’

सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै साविक मलंगवा नगर क्षेत्रको पूर्वमा झिम नदी, पश्चिममा मुसैली नहर, दक्षिणमा नेपाल भारत सीमा क्षेत्र र उत्तरमा बाबा पेट्रोल पम्पसम्मको क्षेत्रभित्र कुनै पनि प्रकारको भेला, जुलुश, बैठक, गर्न नपाइँने स्थानीय प्रशासनले आइतबार बिहान जारी गरेको सूचनामा उल्लेख छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार