निजामती विधेयकमा ट्रेड युनियन व्यवस्थाबारे केही परिवर्तन गरिएको छैन: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजामती सेवा विधेयक मन्त्रिपरिषदबाट पारित गरेर संघीय संसदमा दर्ता गर्ने निर्णय भइसकेको बताएका छन् ।

उक्त विधेयकमा ट्रेड युनियन अधिकारबारे व्यवस्था यथावत् नै राखिएको उनको भनाइ छ ।

निजामती सेवा दिवसका अवसरमा शुक्रबार काठमाडौंमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘यहाँ ट्रेड युनियन अधिकारको कुरा पनि उठ्यो, हामीले अहिले भइरहेको व्यवस्थालाई केही पनि परिवर्तन गरिएको छैन ।’

सोही समारोहमा ट्रेड युनियनको तर्फबाट उत्तम कटुवालले सम्बोधन गर्ने क्रममा ट्रेड युनियनको अधिकार कटौती गर्ने गरी विधेयक तयार पारिएको भन्दै विरोध जनाएका थिए । उनले आफूहरुको चासो सम्बोधन नभए सिंहदरबार घेर्ने चेतावनी समेत दिएका थिए ।

प्रधानमन्त्री प्रचण्डले सम्बोधनको क्रममा विधेयकमा अहिले भइरहेको व्यवस्थालाई केही पनि परिवर्तन नगरिएको जानकारी दिएका हुन् ।

मन्त्रिपरिषदको बिहीबारको बैठकले संघीय निजामती सेवा विधेयक संघीय संसदमा पेश गर्ने निर्णय गरेको थियो ।

राजनीतिक दलहरूको सहमतिबाट संसदले निजामती सेवा विधेयक छिटो पारित गर्ने विश्वास लिएको प्रधानमन्त्री प्रचण्डले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार