जहाज कुर्दाकुर्दै बालकको मृत्यु प्रकरणमा प्राधिकरणका महानिर्देशकलाई कारण देखाऊ आदेश

हवाई उडानमा प्रतिबन्ध लगाउँदा हुम्लामा ६ महिने नाबालकको मृत्यु भएको घटनामा पाटन उच्च अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको नाममा कारण देखाऊ आदेश जारी गरेको छ । अधिवक्ता गणेशबहादुर ओलीले दायर गरेको रिटमा मंगलबार प्रारम्भिक सुनुवाइ गर्दै अदालतले १५ दिनभित्र जवाफ पेस गर्न आदेश दिएको हो ।

प्राधिकरणको निर्णयका कारण हवाई उडान रोकिँदा उपचार हुन नपाई बालकको मृत्यु भएको भन्दै परेको रिटमा मंगलबार उक्त आदेश जारी भएको हो । प्राधिकरणले साउन १२ मा देशका पहाडी तथा हिमाली विमानस्थलमा दिउँसो साढे १२ बजेपछि हवाई उडानमा रोक लगाउने लगायतका ५ बुँदे निर्णय गरेको थियो ।

अधिवक्ता गणेश ओलीले दायर गरेको रिटमा हचुवाको आधारमा गरिएको उक्त निर्णयका कारण हुम्ला, सिमकोट गाउँपालिका ६ का ६ महिने बालक इमरान सुनारको मृत्यु भएको उल्लेख गरेका थिए । उनले आइतबार उच्च अदालतमा रिट दायर गरेका हुन् ।

अधिवक्ता ओलीले मृतक नाबालकको परिवारलाई क्षतिपूर्तिको लागि आदेश दिनसमेत माग गरेका थिए।

न्यायधीश दुर्गबहादुर विश्वकर्माको एकल इजलासमा निवेदकको तर्फबाट अधिवक्ता ओलीका साथै अधिवक्ताहरू धर्मराज रेग्मी, लोकेन्द्र ओली र शिवराज रिमालले बहस गरेका थिए ।

रिटमा विपक्षी नं.१ पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, विपक्षी नं. २ नेपाल नागरिक उड्डयन प्राधिकरण र विपक्षी नं. ३ प्राधिकरणका महानिर्देशक अधिकारीलाई उल्लेख गरिएको छ।

आदेशमा अन्तरिम छलफलका लागि भदौ २५ गते पेशी तोकिएको छ। रिट माग दाबी गरिएको विषय हवाई उडानजस्तो संवेदनशील र हवाई सुरक्षाको विषयसँग सम्बन्धित रहेकाले अर्को पक्षको समेत कुरा सुनी अन्तरिम आदेशको लागि उपयुक्त निर्णय लिइने आदेशमा भनिएको छ।

हुम्लाले उपचार हुन नसक्ने भन्दै रिफर गर्दा पनि समयमै जिल्ला बाहिरका ठूला अस्पतालमा पुर्‍याउन नसक्दा सिमकोट गाउँपालिका वडा नं ६ का सुरज सुनारका छोरा इमरान सुनारको मृत्यु भएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार