सुन तस्करीमा मुछिएका चिनियाँसँग ‘कनेक्सन’ देखिएपछि पूर्वउपराष्ट्रपतिका छोरा पुनसँग सीआईबीको सोधपुछ

साउन ३ गते बरामद भएको ६० किलो सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धान जारी छ । अनुसन्धानका क्रममा सीआईबीले सोमबार पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुनसँग पनि बयान लिएको छ ।

महाराजगञ्जस्थित ब्यूरोमा पुगेर उनले बयान दिएको प्रहरी उच्च स्रोतले बतायो । ६० किलो सुन तस्करी प्रकरणमा छानबिनका दायरामा आएका चिनियाँ नागरिहरुसँग ‘कनेक्सन’ देखिएपछि पुनको सीआईबीले बयान लिइएको स्रोतले बतायो ।

दिपेशको नाम यसअघि पटक पटक सुन तस्करीसँग मुछिएका व्यक्तिहरुसँग उठबस रहेको भन्दै समाचार पनि सार्वजनिक भएको थियो ।

सीआईबीले भेपमा लुकाएर भएको नौ केजी सुन प्रकरण र ६० केजी सुन प्रकरणलाई लिएर शंकास्पदहरुलाई सोधपुछ जारी राखेको छ ।

राजस्व अनुसन्धान विभागले १८ दिन छानबिन गरेपछि फाइल जिम्मा लिएको सीआईबीले अहिले विभिन्न व्यक्तिहरुसँग बयान र सोधपुछ गरिरहेको छ । यो प्रकरणको अनुसन्धान फाइल सीआईबीले यही महिनाभित्र सरकारी वकिलकहाँ पठाउने गरी तयारी गरिरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार