श्रीलंकामा खेल हेरेपछि बालेनले भने : सरकारले जग्गा उपलब्ध गराए रंगशाला महानगरले बनाउँछ

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सरकारले जग्गा उपलब्ध गराए महानगरपालिकाले क्रिकेट स्टेडियम बनाउन पहल गर्ने बताएका छन् ।

एसिया कप क्रिकेटमा सोमबार नेपाल र भारतको खेल हेर्न श्रीलंका पुगेकका बालेनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नेपाल सरकारले काठमाण्डौ महानगर वा आसपासमा आवश्यक १०० रोपनी जग्गा उपलब्ध गराउँछ भने काठमाण्डौ महानगरबाट रंगशाला बनाउन हामी पहल गर्नेछौं ।’

नेपाल-भारतको खेल भएको जत्तिको रंगशाला ८०/९० करोडमै बन्न सक्ने बालेनको आँकलन छ। उनले नेपालमा ठूला खेल हुँदा खेल विकास हुने र करोडौं रकम आर्जन हुने दाबी गरेका छन् । ‘श्रीलंकामा खेल भइरहेको रंगशाला पनि हाम्रो त्रिविको क्रिकेट स्टेडियम जस्तै थियो, केहि प्याराफिट र अलि बढि सुविधा । नेपालमा त्यहि स्तरको रंगशाला जग्गा बाहेक ८०/९० करोडमा नै बन्छ सायद’, उनले लेखेका छन् ।

उनले खेलाडी र तल्लो तहमा सिकाइ सुविधाका लागि अबको ३ वर्षमा सकेसम्म हरेक वडामा एक हुने गरि बलिङ नेट राख्ने प्रबन्ध पहिले नै गरिसकेको जानकारी दिए ।

सोमबारको खेलमा भारतले नेपाललाई १० विकेटले पराजित गरेको थियो । नेपालले एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्धको खेलमा साहसिक ब्याटिङ गरेको छ । गत बुधबार घरेलु टोली पाकिस्तानविरुद्ध कमजोर प्रदर्शन गरेको नेपाली खेलाडीले भारतविरुद्ध डटेर ब्याटिङ गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार